बागलुङ, ५ भदौ । नेपाली काँग्रेस बागलुङकी नेतृ एव गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले तीज पर्व महिला सशक्तीकरण र अधिकारका लागि महत्वपूर्ण हुदैँ आएको बताएकी छिन् ।
बिहीबार नेपाल प्रेस युनियन बागलुङको महिला विभागले हरितालिका तीजको अवसरमा आयोजना गरेको तीज उत्सव २०८२ एवं दर खाने कार्यक्रममा बोल्दै पौवीले तीज पर्व चाड मात्रै नभई एउटा आन्दोलन पनि भएको बताएकी छिन् ।
‘तीज पर्वमा पहिले देखि नै महिलाहरु माथि भएको थिचोमिचो विरुद्ध आवाज उठाउने समयको रुपमा उपयोग गरिदै आएको पाईन्छ,’ उनले भनिन्,‘ यो हाम्रो केवल सांस्कृतिक चाड मात्र नभई यो एउटा नारी आन्दोलन पनि हो । यसले नारी अधिकारको पक्षमा आवाज उठाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले विभिन्न बहानामा भईरहेको विभेदको अन्त्य हुनुपर्ने समेत बताईन् ।
‘अहिले पनि विभिन्न बहानमा भेदभावहरु जारी छन्, अब सबै खाले विभेदहरुको अन्त्य हुनुपर्छ,’उनले भने,‘ लिङ्गीय रुपमा हुने होस् वा अन्य जुन रुपमा भएपनि विभेद हट्नुपर्छ ।’ उनले अब महिलाहरु पनि हरेक क्षेत्रमा सक्षम हुँदै गएको भन्दै ३३ प्रतिशत नभई ५० प्रतिशत अधिकारको माग उठाएको बताईन् । ‘अहिले म एउटा समावेशी कोटाबाट गएको हिसाबले पनि महिलाहरु ३३ प्रतिशत होईन ५० प्रतिशत हिस्सेदारीको हकदार छन् भन्ने तवरबाट कुरा उठाउन सुरु भएको छ,’उनले भनिन्,‘ अब महिलाहरुले हरेक क्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने भएका छन् ।’
उनले पत्रकारिता क्षेत्र समाजको ऐना भएकाले समाजको चित्रलाई छर्लङ्ग देखाउनुपर्ने बताईन् । ‘यो त मेरो मान्छे हो भनेर गलत कुरालाई ढाकछोप नगर्नुस् त्यो मैले गरेको होस् या अरुले नै गरेको किन नहोस्,’ उनले भनिन्,‘सहीलाई सही र गलतलाई गलत भन्ने काम पत्रकारको हो र तपाईहरुले त्यसरी अगाडि बढ्दा नै समाजको भलो हुन्छ ।’
पत्रकारिताले समाजलाई सत्मार्गमा डो¥याउनका लागि सहयोग गर्नुपर्ने उनको तर्क छ । ‘गलत कुराहरुको पर्दा पास गरेर समाजलाई सही बाटोमा लैजाने काम पनि पत्रकारहरुको हो,’उनी भन्छिन्,‘ त्यो कुराहरु यहाँको दत्तचित्त भएर लाग्नुहोला ।’
प्रदेश सांसद पौवीले समग्र बागलुङ जिल्लाको विकासका लागि आफूहरु सक्रियतापूर्वक लागेको समेत बताईन् । ‘हुन त हाम्रो दायित्व कानुन बनाउने हो, प्रदेश सभामा हामी त्यही कामका लागि खटिएका छौं, तर विकास निर्माणमा पनि एउटा सांसदले ध्यान दिओस् भन्ने चाहाना हुने रहेछ । त्यसका लागि पनि हामीहरु लागेकै छौं,’उनले भनिन् ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष एवं प्रेस युनियन केन्द्रीय सदस्य माया अधिकारीले महिला पत्रकारको सशक्तीकरण र अधिकारका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।
कार्यक्रममा नेपाल प्रेस युनियका केन्द्रीय परामर्श समिति सदस्य एवं प्रेस युनियन बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्य र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल प्रेस युनियन बागलुङकी उपाध्यक्ष एवं महिला विभाग प्रमुख उषा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगर र सञ्चालन सचिव डम्मर बुढामगरले गरेका थिए ।







