बागलुङ, २९ चैत । जिल्ला प्रहरी कार्यालय बागलुङले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
जिप्रका बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवका अनुसार बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा खाजाघर र रेष्टुरेण्टमा ललगाई फकाई गरी नाबालिकालाई यौन गतिविधिमा लगाउने दुई जनालाई बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा तमानखोला खाजाघर बुर्तिबाङका संचालक तमानखोला गाउँपालिका–१ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र बसन्त रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर बुर्तिबाङका संचालक मकवानपुर कैलाश गाउँपालिका–९ की ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जन रहेका छन् ।
डिएसपि यादवले परिवर्तित जिल्ला ४५ अन्तरगत १६ वर्षीय परिवर्तित नामथर ०८१/०८२ बागलुङ ३० लाई ४ वर्षदेखि पालैपालो होटलमा राखी ग्राहकहरु सँगबाट पैसा लिई जवरवस्ती यौन कार्यमा संलग्न गराई धन आर्जन गरेको सूचनाको आधारमा प्रहरीले विक र भोम्जनलाई पक्राउ गरेको बताउनुभयो । उहाँले २०७७ फागुन १३ गतेदेखि २०८१ माघ २७ गतेसम्म नाबालिकालाई होटलमा बेश्यावृतिमा लगाएको देखिएको बताउनुभयो ।
प्रहरीले दुवै होटलको रितपुर्वक तलासी गर्दा यौन व्यवसायमा प्रयोग हुने सामाग्रीहरु बरामद गरेको जनाएको छ । डिएसपि यावदले पीडितको वयान र जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा बागलुङ जिल्ला अदालत बागलुङबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत वेश्यावृत्तिमा लगाउन नहुने कसूरमा म्याद थप लिई थप अनुसन्धान भइरहेको बताउनुभयो ।