सुजन रेग्मी
बागलुङ, ४ फागुन । ४३ औं नेपाल मगर संघ स्थापना दिवसको अवसरमा नेपाल मगर संघ बागलुङले चौंथो ‘लखन कप खेलकुद’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फागुन ११ देखि १५ गतेसम्म ५ दिवसीय विविध खेलका कार्यक्रम गर्न लागिएको नेपाल मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनले जानकारी दिनुभयो ।
लखन कपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, पुरुष तथा महिला छेलो प्रतियोगिता, पुरुष तथा महिला रस्साकस्सी (लठ्ठो तान्ने) प्रतियोगिता आयोजना गरिने भएको हो । भलिबलतर्फ वडास्तरीय समूहले भाग लिन पाउने छन् ।
पुरुष भलिबलतर्फ प्रथम हुनेलाई ८१ हजार १ सय ८१ र द्वितीय हुनेलाई ४१ हजार १ सय ४१ रुपैयाँ पुरस्कार रहेको छ भने महिलातर्फ प्रथम हुनेलाई ३० हजार र द्वितीय हुनेलाई १५ हजार रुपैयाँ दिने आयोजकले जनाएको छ ।
छेलो प्रतियोगितामा पुरुषतर्फ प्रथमलाई ८ हजार र द्वितीयलाई ४ हजार र महिलातर्फ प्रथम हुनेलाई ५ हजार र द्वितीयलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने छ । रस्साकस्सीतर्फ पनि पुरुषको प्रथम ५ हजार र द्वितीयलाई ३ हजार, महिलातर्फ प्रथमलाई ४ हजार र द्वितीयतर्फ २ हजार पुरस्कार दिइने जनाएको छ ।
जिल्लाको कुल जनसंख्याको ३० प्रतिशत मगर समुदाय रहेकोले पहिचानका लागि पनि दिवस मनाउने गरिएको पुनले जनाए । खेल आयोजनाका लागि ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
कार्यक्रमको मूल समारोह फागुन १५ गत हुनेछ । चार वर्षदेखि संघले लगातार लखन कप आयोजना गर्दै आएको छ ।