बागलुङ, २ फागुन । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको स्मृतिमा बागलुङ बजारमा दीप प्रज्वलन गरिएको छ । १४८ औं लखन स्मृति दिवसको सन्दर्भमा नेपाल मगर विद्यार्थी संघ बागलुङ र मगर विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा बागलुङ बजारको लोकतान्त्रिक चोकममा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले देशकै प्रथम सहिद लखन थापामगरलाई केवल मगर समुदाय र यससंग सम्बन्धित संघ संस्थाले मात्रै सम्झना गरेर कार्यक्रम गर्नु दुर्भाग्यपूर्ण अवस्था भएको बताए । ‘देशलाई निरङ्कुशताबाट बाहिर ल्याउनका लागि पहिलो पटक आवाज उठाउने व्यक्तिलाई राज्यले राष्ट्रिय विभूतिको रुपमा सम्मान गर्नुपर्नेमा अहिले हामीले मात्रै सम्झना गर्नुपर्ने विडम्बनापूर्ण अवस्था छ,’उनले भने,‘हामीहरुकै जोडबलमा लखन थापालाई प्रथम सहिद मान्न राज्य तयार भए पनि त्यो खालको व्यवहार अझै गर्न सकेको छैन । हाम्रो संघर्ष जारी छ र रहन्छ ।’
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय महासचिव यामबहादुर थापामगर, नेपाल मगर संघ बागलुङका सचिवालय सदस्य संगम घर्तीमगर प्रजातन्त्र स्थापनाका लागि लखन थापामगरको योगदानको बारेमा चर्चा गरेका थिए । नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष कृष्ण अठारे मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत धौलागिरि क्याम्पस समितिका अध्यक्ष विशाल थापामगर र सञ्चालन सचिव प्रदीप थापामगरले गरेका थिए ।
प्रथम सहिद लखन थापामगरको जन्म वि.सं १८९१ मा गोरखा जिल्लाको सहिद लखन गाउँपालिका—७ साविकको बुङकोट—४ मा भएको थियो । भारतमा औपचारिक अध्ययन सकेर नेपाल फर्केपछि वि.सं १९११ मा नेपाल फर्किएर उनी नेपाली सेनाको पुरानो गोरख पल्टनमा भर्ती भए । सन् १८५७ मे १० मा भारतको लखनउमा भएको सैनिक विद्रोह दबाउन जंगबहादुर आफै २७ वटा नेपाली पल्टनको नेतृत्व गरेर भारमत गएका थिए । वि.सं. १९२५ मा लखन थापामगर नेपाली सेनाको क्याप्टेन भैसकेका थिए ।
अंग्रेजको पक्ष लिएर जंगबहादुर भारतीय विद्रोही सिपाहीलाई दमन गरेको देखपछि विक्षिप्त भएका क्याप्टेन लखन थापाले नेपाल अँग्रेजको हातमा पुग्ने विश्लेषण गरेर जंगबहादुरका शासनविरुद्ध विद्रोह गर्ने योजना सहित उनी आफ्ना मित्र जयसिंह चुमी राना सहित वि.सं. १९२७ मा घर विदा लिएर बुङ्कोट फर्किए । घर विदा सकिएपछि पल्टन फर्किनुको सट्टा उनी बुङ्कोट काहुले भङ्गारमा स्थानीय समुदायलाई संगठित गदै किल्ला निर्माण गरे र जंगबहादुरको शासन विरुद्ध धावा बोले ।
जंगबहादुरको शासन विरुद्ध जनमत तयार गर्दै गए । वि.सं. १९३२ सालमा त्यहाँ स्थानीय जनसमुदायले लखन थापामगरलाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा ग¥यो । उनले बुङ्कोटमा राज्य सञ्चालन सुरु गरे । लखन थापाले जनविद्रोहको तयारी गरेको थापा पाएपछि जंगबहादुरले आफ्नै भाई धीर शमसेरलाई उक्त विद्रोह दबाउन खटाए । लखन थापामगर सहित विद्रोहीहरु पक्राउ परे । उनीहरुलाई चरम यातना दिएपछि वि.सं. १९३३ फागुन २ मा जंगबहादुरले लखन थापामगर सहित उनका सहयोगीहरुलाई गोरखा बुङ्कोटमै स्थानीयको अगाडि खिर्राको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिए ।
१९२७ देखि १९३३ सम्म जनसंगठन गरी जनविद्रोह गर्ने लखन थापामगर पहिलो नेपाली थिए । उनलाई २०५६ मा सरकारले उनलाई सहिद घोषणा ग¥यो । २०७२ साल असोज ३ गते मात्रै व्यापक जनदबावपछि तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला नेतृत्वको सरकारले लखन थापालाई औपचारिक रुपमा नेपालको प्रथम सहिद घोषणा ग¥यो । सरकारले लखन थापामगरलाई प्रथम सहिद त घोषणा ग¥यो तर प्रथम सहिदको रुपमा उनलाई कुनै पनि प्रकारका सम्मान दिएको छैन । अहिले पनि सहिद पार्कहरुमा प्रथम सहिद लखन थापामगरको शालिक देख्न पाईदैन ।