अस्थायी वा अस्थिर अवस्थामा रहिरहने रहर कसैलाई हुँदैन । तर जे जस्तो भएपनि आफ्नो ज्ञान, सिप र क्षमताले सक्ने काम गर्दा कुनै न कुनै पेसा वा व्यवसायमा संलग्न हुनुपर्ने हुन्छ । यस्तै विभिन्न कामहरु मध्ये अरुलाई ज्ञान दिएर आफ्नो आयआर्जनको बाटो समात्न बाध्य लाखौँ गुरुहरूले सायदै सोच्दा हुन की म अस्थायी शिक्षक हुन चाहन्छु । विधिको विडम्बना जस्तै अस्थायी करार सेवामा प्रवेश गरेपछि स्थायी शिक्षक, विद्यालय व्यवस्थापन समिति, विश्वविद्यालयबाट उत्पादन भइरहने ए ग्रेडधारी गोल्ड मेडलिस्टहरुले आफ्ना पीडा लुकाउँदै विद्यार्थीलाई पढाउँदै गर्नु नियति नै हो जस्तो लाग्छ ।
देशभर २५ हजार बढी संख्यामा रहेका अस्थायी शिक्षक अस्थायी र करार सेवामा लामो समय पढाएपछि स्तरवृद्धि हुने अवसर कुरेर बसेका विश्वविद्यालय, क्याम्पसमा रहेका प्राध्यापकहरू जो आफैँमा दुनियाँका अगाडि सम्मानित पेसा हुँदाहुँदै पनि मानसिक रूपमा ग्लानि बोकेर हिँड्नुपर्ने बाध्यता कसले बनायो ? सिपयुक्त ज्ञान र नैतिकतायुक्त नीतिले अधिकांश मानिस शिक्षित, स्वस्थ, सुरक्षित, रहँदै समृद्धितर्फ अगाडि बढ्दै जाँदा उसको परिवार समाज हुँदै समग्र राष्ट्रमा नै सकारात्मक प्रभाव पर्दछ ।
सिप र नैतिकताले पूर्ण ज्ञानी मानिस अस्वस्थकर भोजन र व्यवहारमा सहभागी नहुने हुँदा स्वास्थ्य क्षेत्रमा राज्यको लगानी घट्दै जानुका साथै जनस्वास्थ्य स्तर पनि राम्रो हुन्छ । नर्सरीदेखिका पाठ्यपुस्तकमा स्वास्थ्य सम्बन्धी जे जस्ता विषय समेटिएका छन् तिनलाई विद्यार्थीले बुझ्ने भाषा र प्रयोगात्मक व्यवहारमा उतार्ने प्रयास गर्नुमा तिनै शिक्षकहरूको महत्वपूर्ण भूमिका छ । जे जति चिज वस्तुको सेवन प्रयोग र निकटताले मानिसको स्वास्थ्य र सुरक्षामा असर पार्दछ । यो कुरा कसले सिकाउँछ भन्दा शिक्षक शिक्षिकाले हो भन्ने कुरा जो कोहीले बुझ्दछ ।
यसरी सकारात्मक र नकारात्मक, फाइदा तथा बेफाइदा सबै कुरा सिकाउने तिनै शिक्षक शिक्षिका हुन् जो स्थायी वा अस्थायी भनेर विद्यार्थीबाट मूल्याङ्कन हुँदैन । मूल्याङ्कन त कसले पढाएको राम्ररी बुझिन्छ सो आधारमा विद्यार्थीले बुझ्ने गर्दछन् र परीक्षामा उही शिक्षकले पढाएको विषयमा राम्रो नतिजा आउँछ । जो अस्थायी वा स्थायी बिल्लाधारी होइन । वास्तविक शिक्षक हो ।
सामुदायिक सरकारी विद्यालयमा अध्यापनरत शिक्षकहरूमा केही कमी कमजोरी त अवश्य छन् । जसले राज्यबाट अवसर सिर्जना हुँदा पनि प्रतिस्पर्धा गरेर उत्तीर्ण हुन सकेनन् । नेताका पछि लागेर, अरू व्यवसाय गरेर, एनजिओ आइएनजिओमा आबद्ध भएर शिक्षण जस्तो मर्यादित र अति महत्त्वपूर्ण विषयलाई गौण मान्दै औपचारिकतामा सीमित शिक्षण मात्र गर्न थाले । यसबाट एसइई कक्षा ११, १२, स्नातक तथा मास्टर तहका परीक्षामा सहभागी विद्यार्थी अनुत्तीर्ण हुन थाले । उत्तीर्ण भएपनि न्यून अङ्क मात्र प्राप्त गर्न थाले तर निजी विद्यालयमा यस्तो विभेद छैन । त्यहाँ आफ्नो विषयका विद्यार्थीलाई बुझाउन शिक्षकले आफै गृहकार्य गर्ने, सबै विद्यार्थीको गृहकार्य हेर्ने, सही र गलत छुट्टाएर गलत लेखेको ठाउँमा सही उत्तर लेखिदिँदै विद्यार्थीलाई बुझाउँछन् । शुक्रवार वा लामो बिदा पर्दा रचनात्मक सिकाइका विषयमा कुनै न कुनै विषयको गृहकार्य दिइन्छ । रचनात्मक सिकाइबाट विद्यार्थीमा पनि कुनै विद्यार्थीमा कुनै पनि विषयमा लेख्न बोल्न सक्ने क्षमता बढ्ने, सिकेको कुरा व्यवहारमा प्रयोग गर्ने, प्रिन्सिपल तथा अन्य शिक्षकहरू साप्ताहिक समीक्षा बैठकबाट कुनै न कुनै निर्णय गरी विद्यार्थीको क्षमता र अवस्था अनुसार कक्षा सञ्चालन गर्ने, अभिभावकसँग परामर्श गर्ने लगायत आवश्यक पहलकदमी कार्य गर्ने गरेको पाइन्छ ।
सामुदायिक सरकारी विद्यालयमा यस्ता गतिविधि बिरलै देख्न पाइन्छ जसले केही प्रयत्न गरे कति फरक पर्छ होला जस्तो लाग्छ । सरकारी कलेजको अवस्था पनि उस्तै छ लामो समयसम्म आंशिक शिक्षक करार तथा अस्थायी हुँदै आफू अनुकूल राजनीतिक दल सरकारमा पुग्नासाथ स्थायी प्रक्रियाबाट स्थायी नियुक्ति लिनुका साथै अस्थायी सेवाको अवधि गणना गरेर शिक्षा, स्वास्थ्य, सुरक्षा, सुशासन, विकास सेवा लगायतका परीक्षा प्रणालीबाट प्राध्यापक शिक्षक कर्मचारी नियुक्ति हुनुलाई वैधानिक माध्यम मात्र होइन निष्पक्षता र दक्षतामा पूर्ण विश्वसनीय सूचक मानिन्छ प्रजातन्त्र बहालीका क्रममा विद्यार्थी आन्दोलनको रोगले विश्वविद्यालय तथा आङ्गिक क्याम्पसको शैक्षिक गुणस्तर खस्किँदै जाँदा विदेश तथा निजी कलेजबाट उत्पादित जनशक्तिको मेरिट निकै राम्रो पाइन्छ । तर जग्गा भवन कर्मचारी बजेट र कम सबै स्तरबाट उपलब्ध हुँदा पनि व्यवहारिक शैलीमा लगानी गरेर सञ्चालन गरिएका निजी विश्वविद्यालय तथा कलेजको उत्पादन किन राम्रो मानिन्छ ? यसतर्फ सरकारवाला निकायको ध्यान जान जरुरी छ । कक्षा ११, १२ सञ्चालन गर्न उच्च मावि सञ्चालनको विरोध हुँदै विद्यालयमा प्लस टुसम्म अध्ययन गर्न पाउन २०६१ सालदेखि हालसम्म सबै प्लस टु शिक्षक अस्थायी हुँदा आफ्नै भविष्य अन्योलमा राखेर अध्यापन गराइरहेका शिक्षक विद्यार्थी उत्तीर्ण भएपछि किन वैदेशिक अध्ययनसहितको रोजगारीमा जान लामबद्ध भइरहेका छन् भन्ने दोहोरो चिन्ताको विषय हुनुपर्नेमा प्लस टु पछि कलेजमा विद्यार्थीको सङ्ख्या घट्दै गएको विषय मात्र प्रकाशनमा आइरहेको छ ।
मास्टर डिग्रीले मात्र किन पेट भरेन ? डिग्री होल्डर शिक्षकलाई निष्पक्ष रूपमा आयोगको परीक्षा प्रक्रियामा सहभागी गराई सफललाई विश्वविद्यालय कलेजमा प्राध्यापक जस्तै स्वतः स्थायी प्रक्रियामा लैजानुपर्ने अवस्था आउन सक्छ ।
यसर्थ जति सक्दो सबैलाई समेट्दै प्रतिस्पर्धात्मक वातावरणमा रोजगारी सिर्जना र स्थायी ग्यारेन्टी नगर्ने हो भने सामुदायिक क्याम्पस विद्यालयको शैक्षिक गुणस्तर अझ खस्कँदै जाने निश्चित छ । विद्यार्थी घटेर विद्यालय नै मर्ज हुँदै गइरहेको र कलेजमा स्नातक, स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरूले भरिभराउ हुने सहर बजारका घरहरू प्रायः खाली नै हुने गरेका छन् । विद्यालय व्यवस्थापन समितिमा दल निकट अभिभावक व्यक्तिभन्दा शिक्षा सुधारका लागि समय ज्ञान सीप र लगानी गर्ने व्यक्तित्व चयन गर्न ढिला भइसकेको छ । विद्यालयको सिमित स्रोत साधनमा पाल काट्ने व्यक्तिबाट उचित व्यवस्थापन हुनै सक्दैन समितिमा रहेका व्यक्तिले आफै लगानी वा लगनशीलताबाट विद्यालयको वातावरण परिवर्तन गर्न सक्नुपथ्र्याे त्यो हुन सकिरहेको छैन ।
दल आफू निकट शिक्षक नियुक्ति गराउने दबाबबाट पीडित सामुदायिक विद्यालयहरूमा कार्यरत प्रधानाध्यापक अस्थायी र कम शैक्षिक योग्यता दक्षता भएका प्रधानाध्यापकको नेतृत्वमा बढी दक्ष र योग्य शिक्षक हुँदा बुझेर समन्वयमा कमी कमजोरी हुन गई शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयबाट योजना बन्न सकिरहेको छैन । कसरी भए थरीथरिका शिक्षक अस्थायी करार आंशिक निजी स्रोत अनुदान रात कोटा र विषयगत शिक्षकको हिसाब गर्दा १८ थरी नहुने कुरै भएन यसलाई हल्लाको मसला गराइनु भन्दा विषयगत शिक्षक नै १८ थरी र अरू विभिन्न कोटा गरी हुन सक्छन् तर प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति निष्पक्ष र दक्ष हुनुपर्यो भने विषय नै अहिले सामुदायिक विद्यालयमा उठिरहेको सुझाव जान्ने समालोचना हो । राजनीतिक दलका लागि योगदान गरेका शिक्षकलाई विद्यालयमा राखी राजनीति गरिरहनुको सट्टा स्थायित्व र ग्यारेन्टी सहित कुनै रोजगारी वा व्यवसायमा सेटल गराउन सक्नुपर्छ ।
अन्तमा निजी स्रोत साधनबाट सञ्चालित विद्यालयका तुलनामा सामुदायिक स्रोतका विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न शिक्षकको रोजगारीमा ग्यारेन्टी स्थायित्व प्रक्रिया दक्ष शिक्षकको व्यवस्थापन र सिकाई प्रक्रियामा सुधार तथा राजनीतिक पक्षधरताको कमी ल्याउँदै विद्यालय सुधारको अपेक्षासहित बागलुङखबरडटकम अनलाइन पत्रिकाको तेस्रो वार्षिकोत्सव सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।