बागलुङ, १८ भाद्र । बागलुङ नगरपालिका वडा नम्बर ४ दावगरामा निर्माणा गरिएको आधुनिक बागलुङ बसपार्क मंगलबारदेखि संचालनमा आएको छ ।
काम थालेको २३ वर्षपछि बसपार्क संचालनमा आएको हो । मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कको उद्घाटन गरे ।
२०५८ सालमा बागलुङ नगरपालिकालाई कुल ५९ रोपनी जग्गा स्थानीयले दिएपछि बसपार्क निर्माणको काम सुरु भएको थियो । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छभने अन्य जग्गामा घडेरीका रुपमा जग्गाधनीलाई फिर्ता गर्नुपर्ने छ । ठेक्कापट्टाको कामले ढीला हुँदा २०७५ सालमा बसपार्कको शिलन्यास गरि २०७८ सालमा काम सम्पन्न गरिएको थियो । बसपार्क निर्माण सम्पन्न भएको चार वर्षपछि उद्घाटन गरेर संचालनमा ल्याएको हो ।
नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालन गर्न नसक्दा ऋण तिर्न समस्या भएको थियो । बसपार्कका सरोकारवाला, बसपार्क व्यवस्थापन समिति र बागलुङ नगरपालिकाबीच मतभेद रहँदा कामले गति लिन सकेको थिएन । बसपार्कमा जान र फर्किनको लागि पहुँचमार्गको समस्या रहेको भन्दै संचालनमा आएको थिएन । अहिले भएकै पहुँचमार्गको रुपमा रहेका सडकलाई स्तरीय बनाएर संचालन गर्ने र पछि छोटो सडकको काम गर्नेगरी बसपार्क संचालनमा ल्याएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।
नगरपालिकाले जग्गाधनीलाई प्लटिङ गरेर जग्गा फिर्ता गर्नुपर्ने लगायतका १२ बुँदे सहमति छ । बसपार्क चलेसंगै जग्गा प्लटिङ गरी जग्गाधनीलाई फिर्ताको काम थाल्ने बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठको भनाई छ । बसपार्क संचालनमा आएपछि जग्गादाता र स्थानीयबासी हर्षित बनेका छन् । ४१ जग्गादाताले २३ वर्षअघि बसपार्क निर्माणका लागि जग्गा दिएका थिए ।
बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । उनले बसपार्क संचालनमा नआउँदा चार वर्षदेखि नगरपालिकाले नगरविकास कोषलाई बार्षिक १ करोड ऋणको साँवा र व्याज भुक्तानी गरिरहेको बताए । ‘
दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउनुपर्ने नगरपालिकाको दायित्व छ । नगरप्रमुख श्रेष्ठले जग्गादाताहरुलाई बसपार्क बनाएर बाँकी रहेको जग्गा फिर्ता गर्न घडेरीको नक्सा निर्माण गरिसकेको बताए । नगरप्रमुख श्रेष्ठले जग्गादाताको नाममा जग्गा पास गर्दा खर्च लाग्ने भएकोले जग्गा पासको शुल्क छुट गरिदिन प्रदेशसरकारलाई अनुरोध समेत गरे ।
बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बसपार्क संचालनमा आउँदा आफु खुसी भएको बताए । उनले निर्माण सम्पन्न भएपछि पहुँचमार्गको अभावले समयमै बसपार्क संचालनमा आउन नसकेको बताउँदै अहिले रहेको पहुँचमार्गबाटै अहिले संचालन गर्ने र पछि मुख्यसडकमा निस्कनको लागि छाटो पहुँच मार्गको व्यवस्थापन गरिने बताए । ‘ठूला बस संचालन गर्नको लागि यातायात व्यवसायीहरुले अहिले भएको पहुँच मार्ग साँघुरो हुने बताएका छन्,’ अध्यक्ष तथा जग्गादाता राजभण्डारीले भने,‘हामीले छोटो पहुँच मार्गको लागि ट्रयाक खुलेका छौं । मुख्य सडकमा जोडिनको लागि छोटो पहुँचमार्गलाई विस्तार गरेर संचालनमा ल्याउने तयारी छ ।’ उनले बस्तीको लागि नगरपालिकाले सडक, नाली, खानेपानी र विद्युतको व्यवस्था गरिदिनुपर्ने र घडेरीको नक्सांकन गरिदिएपछि व्यवस्थापन समितिले जग्गादाताहरुलाई उपलब्ध गराउने सहमति रहेको बताए ।
बसपार्कको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कमा आवतजावतको लागि पहुँचमार्ग कालोपत्रे गर्न नगरपालिकासँग गण्डकी प्रदेश सरकारले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले बसपार्कमा आउन र जानको लागि मुख्य सडकमा निस्कन पहुँच मार्ग असहज रहेको जानकारी आएको भन्दै उक्त सडक कालोपत्रे र विस्तारको लागि सहकार्य गर्ने बताए ।
मुख्यमन्त्री पाण्डेले जग्गादाताको जग्गा पासमा कर छुटमा प्रदेशको आर्थिक ऐनमा टेकेर दिनसक्ने जति छुट दिन आफु प्रतिबद्ध रहेको बताए । उनले आफुलाई सवै कर छुट दिन मन रहेको बताउँदै ऐनलाई आफुले कुल्चिन नमिल्ने र ऐनले दिन मिल्नेसम्म छुट दिन आफु प्रतिबद्ध रहेको बताए ।
मंगलबार बसपार्क मार्फत धौलागिरी गण्डकी यातायात सेवा प्रालिको बस काकरभिट्टाको लागि छुटेको थियो । बसपार्कमा एकै पटकमा ७० बस राख्ने व्यवस्था र भूमिगत ट्याक्सी पार्किङको सुविधा छ । बसपार्क सञ्चालनमा आएपछि उपल्लाचौरमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ । बागलुङमा हाल बागलुङ नगरपालिका–३ मा चिप्लेटी बसपार्क संचालनमा छ ।
बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक र धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.का अध्यक्ष उमेश के.सी.ले मन्तव्य व्यक्त गरेका थिए । बसपार्क उद्घाटनको अवसरमा तीनै जग्गादाता र अन्टार्टिकामा पुग्ने पहिलो नेपाली बागलुङ नगरपालिकाका भुवनसिंह विश्वकर्मालाई सम्मान गरिएको छ । मुख्यमन्त्री पाण्डेले जग्गादाता र विश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।