बागलुङ १० भाद्र । क्षेत्री समाज बागलुङले ऐतिहासिक हरितालिका तीज विशेष कार्यक्रम भदौ १५ र १६ गते गर्ने भएको छ ।
“सम्पूर्ण क्षत्रीहरु एक हौं, आफ्नो हक, हितको संरक्षण एवं प्रवर्धन गरौं” भन्ने मूल नाराका साथ क्षत्री महिला समाज बागलुङ र क्षत्री नगर समाज बागलुङको आयोजना र क्षत्री समाज बागलुङको सहयोगमा कार्यक्रम हुन लागेको क्षत्री समाज बागलुङका अध्यक्ष रुद्र वहादुर महतले जानकारी दिनुभयो ।
तीज विशेष कार्यक्रम अन्तरगत खुल्ला तीज गीत प्रतियोगिता गरिनेछ । प्रतियोगितामा एक समूहमा ७ जना कलाकार सहभागि हुन पाउनेछन् । प्रतियोगितामा प्रस्तुत गरिने तीज गीतको भाव लोक संस्कृति झल्किने, राष्टियताको भावना जागृत हुने, धार्मिक सहिष्णुता तथा जातीय सद्भाव कायम हुने र महिला सशक्तिकरणमा टेवा पुग्ने खालको हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमले २० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँ, तेस्रो हुने टिमले १० हजार रुपैयाँ र सान्त्वना हुने टिमले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट हुने एकजना कलाकारलाई उत्कृष्ट पुरस्कार स्वरुप २००० प्रदान गरिने अध्यक्ष महतले बताउनुभयो ।
प्रत्येक टोलीलाई दर्ता शुल्क रुवरुप रु.१००० लाग्ने प्रतियोगितामा कुनै व्यक्ति, जातजाति, धर्म , राजनीतिक दल आदिलाई आक्षेप नलगाइएको मौलिक गीत गाउनुपर्ने हुन्छ । प्रतियोगितामा सहभागि हुन इच्छुकले यहि भदौ १४ गते साँझसम्म दर्ता गरिसक्नु पर्नेछ । कार्यक्रमको लागि करिब ४ लाख २९ हजार १०० रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ भने खर्चको व्यवस्थापन विभिन्न शुभेच्छुक व्यक्ति तथा संस्थाहरुबाट सहयोग उठाइएको अघ्यक्ष महतको भनाई रहेको छ ।
कार्यक्रममा विभिन्न स्थानीय तथा राष्टिय कलाकारको बेजोड प्रस्तुति पनि रहनेछ । कार्यक्रम बा.न.पा २ र ३ को ऐतिहासिक पार्क अगाडि संचालन हुनेछ ।