३० साउन, बागलुङ । बागलुङ बजारमा लामो समय देखि उपभोग गर्नै नमिल्ने फोहोर पानी वितरण भएको भन्दै त्यसलाई तत्काल रोकी सफा पानी वितरण गर्न माग गर्दै अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता रमेश खड्काले आफै निवेदकको रुपमा रहेर बागलुङ नगरपालिका, बागलुङ नगरपालिका कार्यपालिकाको कार्यालय, नगरप्रमुख जनकराज पौडेल, बागलुङ नगरखानेपानी उपभोक्ता संस्था बागलुङ, संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, जिल्ला जलस्रोत समिति बागलुङ तथा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाई पोखरा उच्च अदालत बागलुङ ईजलासमा रिट दायर गरेका हुन् ।
खड्काले रिट निवेदनमा बागलुङ बजारमा वितरण गरिएको फोहोर मिसिएको पानी वितरणमा तत्काल रोक लगाई सफा र पिउनयोग्य पानी वितरणको व्यवस्थाका लागि परमादेशका माग गरेका छन् । ‘अहिले बागलुङ बजारमा जुन खालको पानी वितरण भैरहेको छ, त्यो खान त परै जाओस् धुन पनि काम लाग्ने छैन,’ अधिवक्ता खड्काले भने,‘यस्तो पानी वितरण तत्काल रोकेर स्वच्छ सफा र पिउनयोग्य पानी वितरण गर्ने व्यवस्था गर्नका लागि अन्तरिम आदेशको माग गरेको छु ।’
खड्काले बागलुङ बजारका हजारौं उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड हुँदा पनि सरोकारवाला निकाय मुकदर्शक भैरहेको बताए । ‘स्थानीय शासन ऐन २०७४ ले नगरक्षेत्र भित्रको खानेपानी, फोहोर व्यवस्थापन लगायतका कुरा नगरको जिम्मेवारी भित्र पर्ने उल्लेख गरेको छ, यसलाई नगरपालिकाले कानुन निर्माण नगरी अरुलाई जिम्मा लगाउन मिल्दैन,’ उनले भने,‘नगरपालिकाले उपभोक्ता संस्थालाई देखाएर पन्छिन पाउँदैन ।’
बागलुङ नगरखानेपानी उपभोक्ता २०६४ सालमा स्थापना भएको र अहिलेसम्म जम्मा दुई वटा मात्रै साधारण सभा गरिएको भेटिएकाले संस्था नै अवैधानिक भएको बताए । ‘यो संस्था नै अवैधानिक छ, त्यसले गर्दा पनि उपभोक्ताप्रतिको जवाफदहिता र जिम्मेवारीपन देखिन्न,’ उनले भने,‘यस्तो संस्थालाई खानेपानी जस्तो दैनिक उपभोग्य वस्तुकको जिम्मा लगाउनु गैरजिम्मेवारीपन हो ।’