‘ऋषिवर ! के भएको छ आज तपाईंलाई ? सम्पत्ति नै हराए जस्तो गरी अँध्यारो अनुहार लगाउँदै हुनुहुन्छ । बिहानैदेखि न जपमा ध्यान दिनुभएको पाएकी छु, न ध्यानमा ध्यान लागेको देखेकी छु । खाना खानै तीनचोटी बोलाइसकें । मध्याह्न हुन लागिसक्यो पटक्कै सुन्नुभएको होइन,’ बलेसीको ओझेल देखाउँदै अरुन्धतीले भनिन् ।
‘खासै केही होइन, तैपनि बुझ केही हराएको जस्तो भने पक्कै भइरहेको छ । आज किन–किन अतीतको त्यही नमिठो घटनाको सम्झना आइरहेको छ । जतिबेला हामी लुटिएका थियौं,’ अतीतको पाना पल्टाउँदै वशिष्ठले भने ।
‘आऽ जेसुकै होस्, न दुःखेको कपालमा कसले डोरी लगाओस् । हामीसँग के नै त्यस्तो सम्पत्ति छ र कसैको आँखा लाग्ने । तपाईंसित विद्या धन छ, जसलाई कसैले लाँदैनन् । लगेछन् नै भने पनि सकिने होइन, मेरो साथमा त त्यो पनि छैन । मेरा निम्ति सर्वस्व भनेकै यही आश्रमको आकाश र तपाईंको सेवा नै हुन्,’ सहजभावमा प्रस्तुत हुँदै अरुन्धतीले भनिन् ।
‘ठीक भन्यौ, हामीसँग भौतिक सम्पत्ति छैन तर मैले भनेको भौतिक होइन, आध्यात्मिक सम्पत्ति हो । आज अतीतको त्यही डरलाग्दो क्षणले झस्काइरहेको छ । न जपमा मन लागेको छ, न ध्यानमा ध्यान गएको छ,’ विवशता व्यक्त गर्दै वशिष्ठले भने ।
‘कस्तो डरलाग्दो क्षण ? तपाईंं जस्ता वीतरागीलाई पनि तर्साउन सक्ने क्षणबारे म पनि जान्न सक्छु ?’ अरुन्धतीले जिज्ञासा राखिन् ।
‘सक्न त सक्छ्यौ तर … ।’
‘तर ! के तर ? भन्नुको अर्थ छैन भन्न खोज्नुभएको ?’
‘होइन, होइन, कुरै त्यस्तै छ भन्न खोजेको ।’
‘त्यस्तै भन्नाले ?’
‘भैगो नभनौं ।’
‘कारण ?’
‘किनकि तिमीलाई फाइदा छैन ।’
‘फाइदा होइन, सुन्न चाहेकी ।’
‘न रिसाउ न ।’
‘को रिसाएको छ र ?’
‘के भन्न खोजेकी त ?’
‘यथार्थ कुरा गरेकी ।’
‘बेचैनीको कारण सुन्नै चाहेकी हौ ?’
‘कहिल्यै जोक गरेकी छु कि क्या हो ।’
‘महादेवले त्रिपुर (तारकाख्य, कमलाख्य र विद्युन्मालीले अन्तरिक्षमा बनाएको सुन, चाँदी र फलामको पुर) दहन गर्नुभएको घटना थाहा छ ?’
‘छ नि किन नहुने, त्यस्तो महान् कार्य पनि कसले बिर्सन सक्छ ।’
‘महान् कार्य रे ! होशमा त छ्यौ ?’
‘होशमै भएर र भनेकी हुँ ।’
‘कसरी ठोकुवा गर्छ्यौ ?’
‘प्रस्टै छ नि ! जुन कार्यले आसुरी अत्याचार रोकिएको थियो तर यससित तपाईंको बेचैनीको के सम्बन्ध छ र ?’
‘छ, ठूलो सम्बन्ध छ । त्यसैको सम्झनाले पोलिरहेको छ । देख्न मात्र आसुरी अत्याचार रोक्नु थियो त्यो काम तर अन्तर्यमा सुरहरूको असहिष्णुता र विकास विरोधी सोचबाहेक मरिकाटे केही पाउन सकिरहेको छैन ।’
‘होशमा म होइन तपाई पो हुनुहुन्न जस्तो लाग्यो । विकास विरोधी कार्य थिएन त्यो, बरु प्राकृतिक नियम विरोधी कार्यको विरोधी भने थियो बुझ्नुभो ?’
‘धत लाटी ! आफैं घुम्यौ कि कसैले घुमायो । प्रकृति कहिल्यै निरपेक्ष हुन्न बुझ्यौ ?’
‘हो मलाई थाहा छ प्रकृति सापेक्ष हुन्छ तर यहाँ यस्तो कुरा किन आयो त्यो नै बुझ्न गाह्रो पर्ला जस्तो भयो ।’
‘किन आयो भन्ने तिमीले नै ल्यायौ नि । प्रकृति सापेक्ष हुन्छ भनेपछि विकास विरोधी कार्यलाई कसरी प्रकृतिसम्मत मान्न सकिन्छ ? प्रकृतिको धर्म निरन्तर अघि बढ्नु हो भने विकासको काम पनि अघि बढ्नु वा बढाउनु नै हो । जब महादेवले कसैको भनाइमा लागेर असुरहरूले गरेका विकासको जरै नष्ट गरेका थिए भने त्यस्ता कार्यलाई कसरी प्रकृतिसम्मत ठहर्याउन सक्छ्यौ ?’
‘ओ हो कहाँ त्यसो भनेर हुन्छ ? असुरहरूले विकासको नाममा जुन ध्वंश गरिरहेका थिए त्यसलाई के भन्नुहुन्छ ? पहिलो काम उनीहरूले भूमिको जथाभावी दोहन गरी बाढीपहिरोको जोखिम बढाएका थिए । दोस्रो काम अहिलेसम्म कसैले नगरेको पक्की घर त्यो पनि अन्तरिक्षमा बनाएर अस्वस्थ प्रतिस्पर्धाको ढोका समेत खोलिदिएका छन् । यस्ता कार्यलाई पनि प्रकृति विरोधी नभनेर के भन्ने ?’ अरुन्धतीले तार्किक प्रश्न गरिन् ।
‘हो तिमीले भनेको केही हदसम्म सही हो असुरहरूले अलि बढी हतार गरेकै हुन् तर यसको अर्थ यो होइन कि जरैदेखि उखेलेर फाल्नु । असुरहरू प्रकृति विरोधी होइनन्, थिएनन् पनि । म त भन्छु निरन्तर अघि बढ्ने प्रकृतिको धर्म हो भने उनीहरूले त्यही कार्यलाई नै सहयोग गरिरहेका थिए । पहिले नदीहरूमा डुंगाबाहेक केही थिएन, जुन बरोबर दुर्घनामा पर्थे । घरहरू कच्ची हुन्थे, जसमा सदा हुरी, बतास र आगलागीको जोखिम रहन्थ्यो तर असुरहरूले जतिबेला फलामको खानी पत्ता लगाएका थिए त्यतिबेलादेखि भने यस क्षेत्रको कायपलट भएको मात्र थिएन, आगामी दिनका लागि अन्तरिक्ष अनुसन्धानको ढोका समेत खोलिदिएका छन् । सुनेको थिएँ उनीहरू त्यस्तो चामत्कारिक युगको समेत विकासमा लागेका थिए रे जहाँ एक पटक बोलिएको कुरा जस्ताको तस्तै वर्षौैंसम्म सुरक्षित राख्न सकिन्छ । तिमी नै भन त अब कसले गर्ने यसको भरपाई ? लौ मानौं एकछिनलाई असुरहरूले नचाहिने काम नै गरेका थिए रे ! त्यसै हो भने पनि महादेवले जस्ताले सम्झाइबुझाई गरी रोक्नुपथ्र्यो । उनीहरू महादेवका भक्त थिए । उनले भनेपछि पक्कै मान्ने थिए तर महादेवले न दायाँबायाँ हेरे, न कसैका कुरा सुन्नै चाहे । एकाएक भीमसेन लिंड्को लगाई विकासप्रेमी असुर सभ्यतालाई नै पश्चिम समुद्रमा डुबाइदिए । सम्झँदा अहिले पनि भित्रैदेखि मन कोक्याएर आउँछ,’ वशिष्ठले नैराश्य व्यक्त गरे ।
‘त्यो त माने, चित्त नबुझेको भए त्यति हदसम्मका कामलाई रोकिदिएका भए हुन्थ्यो । यहाँ महादेवले पनि हतार गरेकै हुन् । यसैको फल दुनियाँले अहिलेसम्म पनि भोगिरहेका छन् तर जुन चामत्कारिक युगको कुरा गर्दै हुनुहुन्छ, त्यसको त तपाईं आफैं पनि विरोधी हुनहुन्थ्यो नि होइन र ? मानिसहरू अहिले पनि भनिरहेका छन् वशिष्ठकै कारण महर्षि विश्वामित्रले अघि बढाउन खोजेका अक्षर युगको विकास रोकिएको हो भनेर,’ अरुन्धतीले थप जान्न चाहिन् ।
‘होइन यो पनि पूर्ण सत्य होइन । मेरो र विश्वामित्रका बीचमा खटपट थियो, नभएको होइन । त्यो पनि अहिलेदेखि होइन, उहिलेदेखि नै तर विकासको नाममा होइन । हामी दुवै पञ्जावका तत्कालीन राजा दिवोदास र उनको छोरा सुदासका राज पुरोहित थियौं कुनै बेला । यिनै पौरोहित्यका विषयलाई लिएर यदाकदा सामान्य खटपट हुने गथ्र्यो । दुनियाँले त्यसैलाई भजाएर तीललाई पहाड बनाएका हुन्,’ वशिष्ठले विगत प्रस्ट्याए ।
‘त्यो त बुझियो तर तपाईं जस्ता त्रिकालदर्शी महर्षिलाई यत्ति कुराले कसरी त्यति बढी बेचैनी गरायो त्यो भने बुझ्न सकिएन … ।’
अरुन्धती थप बोल्न खोज्दै थिइन् वशिष्ठले बीचमै रोकेर भने, ‘हामी समाज सुधारक हौं, बाटामा लागेका जुनसुकै ठेस पनि हाम्रा लागि असह्य पीडादायक हुन्छ ।’
आपसमा यस्तै गन्थन चल्दाचल्दै कति बेला घाम अस्ताएछन् वशिष्ठ र अरुन्धतीले पत्तै पाएनन् । उठेर हिँड्न खोज्दै थिए तर प्रच्छन्न अन्धकारका कारण कतै केही देख्न सकेनन् ।