काठमाडौँ, १४ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामहरू राष्ट्रिय सहमतिका आधारमा टुङ्ग्याउन वर्तमान सरकार लागिपरेको बताउनुभएको छ ।
द्वन्द्वपीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग आज सिंहदरबारमा भेटवार्ता गर्दै प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेशको पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सरकारको इच्छा भए पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी काम सम्पन्न हुन नसकेको प्रचण्डले स्वीकार गरे । उनका अनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नदिने शक्ति छन् ।
सरकार प्रमुखले शान्ति प्रक्रियाका बाँकी काम गर्न सरकारले विधेयक अगाडि बढाएको जानकारी दिए ।
साथै उनले द्वन्द्वपीडितका परिवारलाई रोजगारी, द्वन्द्वमा घाइते भएकाहरुको उपचार र आवासको व्यवस्था गर्न सरकारले पहल गरिरहेको बताए ।
प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पु¥याएर दिगो शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याए ।
रासस