बागलुङ, २६ फागुन। अर्ना जेसीज कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोखरेलले शनिबार प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा बोल्दै अध्यक्ष पोखरेलले युवाहरुलाई खेलकुदको माध्यामबाट जोड्न जेसीजले प्रयत्न गरिरहेको बताए । उनले जेसीज बर्ष २०२४ ले नेपाल सरकारसँग मिलेर उत्पे्ररणा र युवा शशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने पनि सुनाए ।
प्रतियोगितामा साबिक धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका क्लबहरूले सहभागिता रहने छ । प्रतियोगितामा सहभागिता जनाउने क्लबहरूले दुई जना विदेशी खेलाडीहरु राख्न पाउने व्यवस्था गरिएको बागलुङ जेसिजका अध्यक्ष गणेश महतोले बताए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष महतोले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं। २ का अध्यक्ष सुरज बोसेल, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, पत्रकार महासंघका सचिव बिजय रानाले शुभकामना दिए ।
गणेश महतोको अध्यक्षता, महासचिव ताराप्रसाद शर्माको सञ्चालन र निवर्तमान अध्यक्ष सौरभ श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । आइतबारदेखि प्रतियोगिताका खेल बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।
प्रतियोगिता फागुन २७ देखि चैत २ गतेसम्म चल्ने छ ।