काठमाडौं,०३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग-२ २०२४-२७ अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।
विहीबार टियु क्रिकेट मैदानमा नामिबियाले विजयी सुरुवात गर्ने क्रममा ४ विकेटको जित निकालेको हो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३४ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालले टियु मैदानमा १५ ओडीआई खेलपछि हार बेहोर्द प्रशिक्षक मोन्टि देशाइको घरेलु ओडीआईको अपराजित यात्रामा पनि पूर्णविराम लाग्यो ।
नामिबियाका लागि अलराउन्डर जान निकोल लफ्ट इटन र जेजे स्मिटले छैटौं विकेटका लागि ४२ रनको साझेदारी गर्दै जितको आधार तय गरे । स्मिट ३५ बलमा १ चौका र १ छक्कासहित १७ रनमा नटआउट रहे । लफ्ट-इटनले ३० बलमा ५ चौकासहित ३१ रन जोडे ।
नामिबियाका लागि जान फ्रिलिंकले ३४ रन जोडे । उनी २१ औं ओभरमा सोमपालको बलमा क्याच आउट भएका थिए ।
ओपनरद्वय निको डाभीन १५ रन र माइकल भान लिंगेनले ३३ बलमा २३ रन जोडे । दुवैलाई ललित राजवंशीले आउट गरे ।कप्तान एरास्मस ८ रन बनाएर सोमपालको बलमा क्याच आउट भए । उनी आउट भएको ३ बलपछि नै फ्रिलिंक आउट भएका थिए ।
२५ औं ओभरमा जेन ग्रीन आउट भएपछि नेपालले खेलमा फर्कने संकेत पाएको थियो । सोमपालले लगातार ३ विकेट लिँदै ८१-२ बाट ८४-५ को स्थितिमा पुर्याएपछि नामिबिया दबाबमा थियो । तर स्मिट र लफ्ट इटनले टोलीलाई जितसम्म पुर्याए ।
त्यसअघि नेपालले ४१.१ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र जोड्न सक्यो । घरेलु मैदानमा नेपालले ओडीआईमा जोडेको यो सबैभन्दा कमजोर योगफल हो । यसअघि नेपालले ओमान र यूएईविरुद्ध दोस्रो इनिङमा १ सय ७९ रन बनाएको थियो । पहिलो इनिङमा भने २०२० मा अमेरिकाविरुद्ध १ सय ९० सबैभन्दा कम थियो ।
कमजोर सुरुवात गरेको नेपाललाई मध्यक्रममा भीम सार्कीको ब्याटिङले उकासेको थियो । २१ रनमा शीर्ष ४ ब्याटरको साथ गुमाएपछि नेपाल दबाबमा परेको थियो । भीमले ८६ बलमा ४४ रन जोड्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए ।