म गएपछि केही दिन श्रद्धाञ्जली अर्पण गर्न राखिएको तस्बिरमा रहनेछु
अखबारको वर्गिकृत विज्ञापनको हार्दिक समवेदनामा अटाउनेछु निस्चित मितिमा
अलिकति म भान्सा कोठाको पिर्कामा रहनेछु
शौचालय र स्नान कक्षमा झरेका रौँहरूमा रहनेछु
थाल,कचौरा,अम्खरामा मेरा र्यालका किटाणुहरू पनि केही दिन पक्कै रहलान्
बैठक कोठाको सोफामा चिया पिउदा पोखिएको दागमा पनि रहनेछु
शयन कक्षमा म सुतेर खिचिमिजि बनाएको तन्नामा पनि म भेटिनेछु
सम्पूर्ण घर जहाँजहाँ मैले स्पर्श गरे त्यहाँ औंठाछापहरूमा पाइने छु ।
म जलाइएपछि पनि बादलको जुलुसमा एक टुक्रा भेटिनेछु
हावाका झोंकाहरूमा थोरै परिणाममा मिसिएर रहनेछु
अलिकति त यहि माटोमा मिसिएर अजर रहनेछु
जल्न नसकेको शेष अंशहरू किरा,फटयांग्रा,माछाहरूको भोजनमा भेटिनेछु ।
म साथीहरू माझ बदमासीका किस्साहरूमा गफिनेछु
मन दुखाएकाहरूको घृणामा बस्नेछु
अर्धांगिनीसँगको निर्लज्ज हर्कतमा रहनेछु
केहि मुटुको खुत्रुकेमा जम्मा गरिएका खुद्रा यादहरूमा हुनेछु
तिथिको मन्त्रोउच्चारणमा पनि भेटिन सक्छु ।
म गएपछि पनि यतै रहनेछु
पाठशालाको पूरानो भर्ना ढड्डामा हुनेछु
शैक्षिक प्रमाणपत्रको लेमिनेटेड कागजमा भेटिनेछु
नागरिकताको श्यामश्वेत तस्बिरमा रहनेछु
अन्त कतै नभेटिए पनि पालिकाले प्रदान गरेको
मृत्यु दर्ता प्रमाणपत्रमा त म अवश्य भेटिनेछु ।
जसरी सबै कुरा बडारेर पनि कुचोमा केही अंश धुलो अड्किन्छ
त्यसैगरी म रहनेछु केही मात्रामा ।
म गएपछि पनि मैले ओगटेर बसेको स्थानमा खालीपनको डोब बनेर रहनेछु, यतैकतै !
- जनक कार्की