बागलुङ, २३ माघ । बागलुङको गुराँस विद्यासदनले भोलि (बुधबार)देखि प्रथम गुराँस कप अन्तर विद्यालय फुटसल च्याम्पियनसिप अण्डर ८ प्रतियोगिता गर्ने भएको छ ।
गुराँस विद्यासदनको छैठौं बार्षिकोत्सवको अवसरमा विद्यालय र गुराँस विद्या सदन बाल क्लबको संयुक्त आयोजनामा कक्षा ८ सम्मका विद्यार्थीहरुलाई सहभागिता गराउने उद्देश्यले प्रतियोगिता संचालन गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल निशान खड्काले बताउनुभयो । उहाँले प्रतियोगितामा १७ विद्यालयका २० टिमको सहभागिता रहेको जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १५ हजार ५ सय ५५ रुपैयाँ र ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने विद्यालयले जनाएको छ । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता र सेमिफाइनल पुग्ने दुई टिमलाई ट्रफीले पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक खड्काले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले बालबालिकाको प्रतिभा प्रष्फुटनका लागि खेलले महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो ।
पत्रकार सम्मेलनमा गोलप्रथाबाट खेलको खेल तालिका सार्वजनिक गरिएको छ । रसआवर फुटसल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बुधबार विहान ८ बजे धौलागिरी बोर्डिङ र गरिमा माध्यमिक विद्यालय विच हुनेछ । पत्रकार सम्मेलनको संचालन शिक्षक रामु जिसीले गर्नुभएको थियो ।