बागलुङ, २९ पुष । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा केबी राना मगर बिजयी हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा रानाले ४ सय ३४ मत ल्याउँदै अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक चित्रांगत बरालले बताउनुभयो ।
रानाले अर्का प्रत्याशी जयराम भारीलाई २६ मतान्तरले पराजित गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी जयराम भारीले ४ सय ८ मत ल्याउनुभएको छ । अध्यक्ष पदका अर्का प्रत्याशी भुपेन्द्र खड्काले ८५ मत पाउनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा हरीबहादुर जि.सी. (सन्तोष) निर्वाचित हुनुभएको छ । उहाँले ४ सय ४७ मत पाउँदा उहाँका प्रतिद्धन्दी रतन प्रसाद मलेपतिले ४ सय ४३ मत पाउनुभएको छ । जि.सी. जयराम भारी प्यानलबाट चुनाव लड्नुभएको हो । सचिवमा के.बी. राना मगरको प्यानलका जीवन आचार्य निर्वाचित हुनुभएको छ । उहाँले ४ सय ७४ मत पाउँदा उहाँका प्रतिद्धन्दी निर्मल बहादुर श्रेष्ठले ४ सय ३७ मत ल्याउनुभएको छ ।
कोषध्यक्षमा कृष्ण शर्मा निर्वाचित हुनुभएको छ । उहाँले ५ सय मत पाउँदा उहाँका प्रतिद्धन्दी थानेश्वर सुवेदीले ३ सय ८५ मत पाएको निर्वाचन समितिका संयोजक बरालले जानकारी दिनुभयो । निर्वाचित शर्मा अध्यक्षमा निर्वाचित के.बी. रानाको प्यानलबाट उम्मेदवार बन्नुभएको हो ।
खुल्ला सदस्यमा केबी राना प्यानलका कुलराज शर्मा हिमाल र जयराम भारी प्यानलका शिव आचार्य निर्वाचित हुनुभएको छ । निर्वाचित शर्माले ४ सय ७ र आचार्यले ३ सय ७१ मत प्राप्त गर्नुभयो ।
महिला सदस्यमा राना प्यानलकी कालिका सापकोटा, र हुमादेवी खड्का तथा भारी प्यानलकी गुमादेवी श्रीष छन्त्याल निर्वाचित हुनुभएको छ । सापकोटाले ४ सय २४, खड्काले ४ सय १५ र छन्त्यालले ३ सय ७३ मत प्राप्त गर्नुभएको छ । १ हजार ५ सय २८ मतदाता रहेको खानेपानीको निर्वाचनमा कुल ९ सय ८५ मत खसेको थियो ।