बागलुङ, ११ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले देशकै प्रशिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरको दर्शन गरेका छन् ।
आजदेखि (बुधबार) सुरु भएको सातौं बागलुङ महोत्सवको उद्घाटनको लागि बागलुङ आएका राष्ट्रपति पौडेलले कालिका भगवती मन्दिरमा विशेष पूजाआराधना गरेको हुन् ।
पूजाआराधनापछि कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले राष्ट्रपतिलाई काठबाट बनाइएको मन्दिरको मुत्र्ति उपहार दिएका थिए । पूजाआराधना पछि राष्ट्रपति पौडेलले मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा सुझाव सहित हस्ताक्षर गरेका छन् ।
बागलुङ जिल्लाको सदरमुकाममा रहेको बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास रहेको अध्यक्ष खड्काले बताए ।
मन्दिरमा देशभरीका दर्शनार्थीहरु र छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन् ।
बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ । मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।
मन्दिरमा माघ र साउन महिना बाहेक वर्षभरी नै दर्शनार्थीको चहलपहल हुने गर्दछ । मन्दिरमा प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरुमा भक्तजनहरुको बढी भिड् लाग्ने अध्यक्ष खड्काले बताए । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको अध्यक्ष खड्काको भनाई छ ।
कालिका भगवती मन्दिरमा बर्षको दुई पटक चैते दशैं र वडा दशैंमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।