बागलुङ, २० मंसिर । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थामा ठगी गर्ने व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
बागलुङ जिल्ला अदालतले मंगलबार जिल्लाको ढोरपाटन नगरपालिका १ का ३८ वर्षीय डोरबहादुर परियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।
प्रतिवादी देव कुमार नेपाली समेत भएको इमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी सम्बन्धी २०७४ अन्तर्गतको कसूर मुद्दामा पक्राउ अनुमति जारी भएपछि प्रहरीले यही मंसिर १५ गते पक्राउ गरेको थियो।
रकम हिनामिना पारेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित ११ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले साउन २ गते ठगी मुद्दा दायर गरेको थियो।
यसअघि जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
ठगी मुद्दा लागेका ३ जनाबाहेक, श्रीमती छेला नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, रूपा विक र झकबहादुर शाही फरार थिए। फरारमध्ये परियार पक्राउ परेका हुन् ।
एक अर्ब ३० करोड रुपैयाँ बिगो दाबीसहित १५ सय ४३ जनाको मुद्दा दर्ता भएको छ ।
सञ्चालकका लागि ८ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ ।