खेमराज गौतम
बागलुङ, ९ मंसिर । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १७ औँ वार्षिक साधारणसभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ ।
तीन हजार ४३४ शेयर सदस्य रहेको सहकारीले आफ्नो १७ औँ साधारणसभा भव्यताकासाथ सम्पन्न गरेको छ ।
साधारणसभालाई सदस्यहरुको सभाका रुपमा मात्रै सम्पन्न गरिएको संस्था अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले जानकारी दिइन् । । साधारणसभामा अतिथि, खादा, माला, ब्याचको प्रयोग भएको थिएन भने बिहान ११।३० बजे शुरु गरेर सवा तीन बजे सम्पन्न गरिएको उनले जानकारी दिइन् ।
सहकारीका कार्यक्रमहरु भाषणमुखी भएको र शेयर सदस्यहरुले सहकारीका विषयमा कम जानकारी राख्दा पछिल्लो समय सहकारीमा समस्या आएकोले सदस्यहरुलाई सक्रिय बनाउने उद्देश्यका साथ प्रशिक्षणमूलक साधारणसभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व संघीय सांसद मन कुमारी केसीले सहकारी जोगाउन सदस्यकै भूमिका रहेको भन्दै आदर्श सञ्चार सहकारी सक्रिय शेयर सदस्यकै कारण प्रगतितर्फ लम्किरहेको बताए । सहकारीको मर्म र भावना अनुसार सदस्यहरुलाई आर्थिक रुपमा सबल, सामाजिक रुपमा सचेत गर्ने विषयमा आदर्श सञ्चार सहकारी सदैव अगाडि रहेको उनले बताइन् ।
साधारण सभामा संस्थाका सचिव सरस्वती खड्का परियारले प्रगती प्रतिवेदन, कोषाध्यक्ष शान्ति लक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक अनन्त बहादुर खड्काले प्रस्तुत गरेका थिए । साधारणसभामा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मतीले पारित भएको थियो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारीका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा तरलता व्यवस्थापन, संस्थाले चालेको १० वर्षे रणनीतिक योजना र समसामयिक विषयमा प्रस्तुतिकरण गरेका थिए ।
जिसीले सक्रिय शेयर सदस्य भएको संस्थामा जस्तोसुकै समस्या रहेपनि समाधान हुने भन्दै सहकारीका असली मालिक सदस्य भएको बताए । उनले हाल संस्थाको आर्थिक अवस्था, शेयरपूँजी तथा अन्य आर्थिक विषय सदस्यलाई जानकारी गराएका छन् ।
जिसीले सदस्यको सानो–सानो बचतले सहकारीमा ठूलो रकम जम्मा हुने भन्दै ठूलो बचत र धेरै व्याजका कारण सहकारीमा समस्या आइरहेको बताए ।
कार्यक्रममा शेयर सदस्यहरु सुर्य महत, विनोद शर्मा, भुपेन्द्र बहादुर कार्की र डम्मर बहादुर बानिया लगायतले आदर्शले सञ्चालन गरेका कार्यक्रमहरु सहकारीको संस्थागत विकास र समुदायलाई सचेत बनाउन सहयोगी बनेको बताए ।
उनीहरुले आदर्शका शेयर सदस्यहरु अझै सक्रिय हुनुपर्ने भन्दै आदर्शलाई सदस्यहरुले हौसला प्रदान गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुले आदर्शले अझै सदस्यमाझ प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने सुझाव व्यक्त गरे ।
साधारणसभामा सर्वोत्कृष्ट कारोबार गर्ने कमल लामिछाने र उत्कृष्ट कारोबार गर्ने कमल प्रसाद श्रेष्ठ, शंकर पाण्डेय, दयाराम पौडेल, कमला महत, गंगा केसी, खिम बहादुर केसी, दुर्गा बहादुर क्षत्री, हिरामणी उपाध्याय, सुर्य प्रसाद चापागाई, गीता खड्का, लिला खत्री, कृपा नकर्मी, चन्द्र बहादुर क्षत्री, जित बहादुर खड्का, शशिधर भट्टराई, भुपेन्द्र केसी, भिमकला शर्मा, कृष्ण श्रेष्ठ, डिल बहादुर कार्की र राजेश जि सी सम्मानित भएका छन् ।
दीर्घकालिन बचत तर्फ प्रविण थापा, बिमला केसी, मनिषा सापकोटा, दीर्घकालिन बाल बचत तर्फ अरुण भण्डारी आले, जोडी सम्मानमा सन्त प्रसाद शाक्य र मुक्तिदेवि शाक्य रहेका छन् । कार्यक्रममा उत्कृष्ट ऋणी र उत्कृष्ट शेयर सदस्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा २७ जेष्ठ शेयर सदस्यहरुलाई दुई हजार ४०० का दरले पेन्सन र १२ अपाङ्गता भएका शेयर सदस्यहरुलाई जनही रु एक हजार अपाङ्गता प्रोत्साहन रकम गरिएको थियो । पछिल्लो समय सहकारीका साधारणसभालाई सदस्यको साधारणसभाको रुपमा मात्रै लिनेगरी साधारणसभालाई सदस्यको अन्तरक्रिर्या युक्त बनाइएको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले जानकारी दिए ।
संस्थाका सञ्चालकहरु मनकुमारी केसी, अमर बहादुर थापा, डिल बहादुर कार्की, रुद्र बहादुर महत, कमल प्रसाद श्रेष्ठ, दयाराम पौडेल र सुरेश प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेको कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागत तथा सह–सम्पादक सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।