बझाङ — भदौ मध्यदेखि बझाङ मेलामय भएको छ । सुर्माको विरिजात र लेकगाउँको विरसती सकिएलगत्तै खप्तड छान्नाको पाटादेवलमा लाग्ने सैनडाँडा मेला सुरु भएको छ । असोज शुक्ल पूर्णिमाका दिन सुरु हुने यो मेला तीन दिनसम्म चल्नेछ ।
खप्तड दहमा रहेको मन्दिरबाट डोली ल्याएर पाटादेवलमा रहेको खापरमाडौं मन्दिरमा चढाएपछि मेलाको विधिवत् सुरुवात भएको मानिन्छ । मेला भर्नका लागि बझाङलगायत अछाम, बाजुरा र डोटीका दर्शनार्थीको भीड लागेको छ । छान्ना क्षेत्रका विभिन्न मठमन्दिरका धामीहरूको सामूहिक नाच मेलाकै मुख्य आकर्षण भएको छ ।
सैनडाँडा मेला देउडा खेलका लागि निकै चर्चित छ । महिला र पुरुषका बीच हुने देउडाले धेरैलाई मोहित पार्छ । केही वर्ष अगाडिसम्म यही मेलामा देउडा–दोहोरी खेलेर जित–हार भएपछि उसै सँग विवाह गर्ने चलन थियो । अहिले यो चलन हराएको छ ।
मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको स्थानीय रामबहादुर सिंहले बताए । महाभारत कालमा पाँच पाण्डवका पुरोहित धौम्य ऋषिले कुरुक्षेत्रमा भएको गोत्र हत्याको पापमोचन गर्न खप्तडमा गएर शिव दर्शन गर्न सुझाएको किंवदन्ती छ ।
यसै क्रममा पाण्डवहरू खप्तड छान्नामा रहेको खापरमाडौं आएर खापर देवताको पूजा गरेको र यहाँ यज्ञमा प्रयोग भएका सामानहरू खप्तडमा रहेको त्रिवेणीमा सेलाएको मान्यता छ । पाण्डवहरूले नै यो मेलाको सुरुवात गरेको विश्वास गरिन्छ ।
अर्काे एक किंवदन्तीअनुसार पाटादेवलमा रहेको खापरदेवको स्थापना भएपछि विसं. १२८० मा सिजापती सम्राट नागराजका छोरा महाराज क्रस्चल र उनका छोरा अशोक मल्लले राज्य विस्तार गर्न कुमाउ गढवाल आक्रमण गर्ने सिलसिलामा खापर देवताको ढुकुटी लुटेर लगेका थिए ।
पछि खापर देवताले दु:ख दिन थालेपछि सिजापती राजाले पछुतो गर्दै माफी मागेर लुटेको धनको दोब्बर सम्पत्ति बुझाएको मान्यता छ । त्यसपछि सिजापती राजा कालीगढसहितको फौजमा खापरमाडौं आएर स्थानीय बासिन्दालाई भेला गराएका थिए । लुटेको दोब्बर सम्पत्ति फिर्ता गराई उत्सवमय माहोलमा पूजा गरेको र त्यही बेलादेखि मेलाको सुरुवात भएको विश्वासमेत गरिने पाटादेवलका उत्तम थापाले बताए । त्यस बेला सिजापती महाराज जितारी मल्लका भाइले खापरमाडौंमा राखेका शिलालेख र ढुंगामा कुँदिएका मूर्तिहरू हालसम्म पनि यथावत् छन् ।
सैनडाँडा मेला बान्नी चैलती, चैनपुरको शिलदेवी पछिको तेस्रो ठुलो मेलाको रूपमा लिइन्छ । पछिल्लो समय यो मेलाले देउडा संस्कृतिको जर्गेना गर्नका लागि ठूलो भूमिका खेलेको बझाङको इतिहास तथा संस्कृतिका अध्येता विष्णुभक्त शास्त्रीले बताए ।