काठमाडौं, २२ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन्। जितसँगै अस्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ।
मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले १२८ बलमा २०१ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जित दिलाएका हुन्। अस्ट्रेलियाको शानदार जितसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना भने टरेको छ।
अस्ट्रेलियामाथि हाबी भएको अफगानिस्तानविरुद्ध म्याक्सवेल एक्लै वान मेन आर्मी जस्तै भएर खेललाई जिताएका हुन्। ९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियाको पारीलाई म्याक्सवेल एक्लैले दाहोरो शतकको मद्धतमा जोगाएका हुन् । अफगानिस्तानले म्याक्वेलको एउटा क्याच ड्रप गरेपछि उनले कीर्तिमानी दोहोरो शतक बनाएका हुन्। यो जितसँगै अस्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो ।
म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का हिर्काए। यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो। म्याक्सवेलले यही विश्वकपमा इतिहासको सबैभन्दा चाँडो शतकको कीर्तिमान पनि बनाएका छन्। म्याक्सवेललाई कप्तान प्याट कमिन्सले ६८ बलमा १२ रन बनाउँदै अन्तिमसम्म साथ दिएका थिए ।
अफगानिस्तानका लागि नविन उल हक, अजमतुल्लाह ओमारजाइ र रासिद खानले २–२ विकेट लिए पनि म्याक्सवेललाई रोक्न सकेनन्। मंगलबारको जितसँगै ८ खेलपछि अस्ट्रेलियाले १२ अङ्क जोडेको छ। ८ अङ्क रहेको अफगानिस्तान नेट रन रेट अनुसार छैटौँ स्थानमा छ।
यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो। ओपनर इब्राहिम जाद्रानले शतक १२९ रनमा अविजित शतक प्रहार गरेका थिए।