काठमाडौं, ८ असोज । आन्दोलनरत शिक्षकहरूले आन्दोलनको स्वरूप परिवर्तन गरी आजदेखि सडकमै सुतेर विरोध जनाएका छन्।
शिक्षक महासंघले शुक्रबार ६ बुँदे सम्झौता सरकारसँग गरे पनि आन्दोलनतर राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो नयाँ बानेश्वरस्थित मूल सडकमै सुतेर आन्दोलन जारी राखेका हुन्।
राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाएका हुन्। उनीहरूले सडकमा आधा घण्टा सुतेर विरोध गरेका हुन्।
गत असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए। उनीहरूले २० वर्षभन्दा बढी राहतमा सेवा गरेका शिक्षकहरूलाई स्वतस् स्थायी र अन्यको हकमा पनि सेवाबाट बाहिरिनु नपर्ने अवस्थाको ग्यारेन्टी गरिनुपर्ने माग राखेका छन्।
केही तस्वीरहरु :