काठमाडौं, २९ साउन । नारायणी नदीको बाढी बस्तीमा पसेपछि गैंडाकोटको बोटे गाउँका २० घरपरिवार विस्थापित भएका छन् । गएराति लेदो माटोसहितको बाढी वस्तीमा पसेपछि उनीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नारायणीको बाढीको सतह बढेर जोखिमको सम्भावना बढेपछि प्रहरी प्रशासनले सूचना जारी गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । त्यसपछि उनीहरु लत्ताकपडा, खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेर सुरक्षित स्थानमा गएको प्रहरीको भनाइ छ । विस्थापित भएकाहरु आफन्तको घरमा बसेका छन् ।
यसैबीच नारायणी नदीको बाढी खतराको संकेत नजिक पुगेपछि नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ ।
आज बिहान ब्यारेजमा २ लाख ७३ हजार क्युसेक प्रतिसेकेन्ड बहाव मापन भएको थियो । ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड तीन लाख क्युसेक पुग्यो भने खतराको सूचक मानिन्छ ।