बागलुङ, १४ साउन । गुराँस विद्या सदनमा आज एक औपचारिक कार्यक्रमका बिच युवा रेडक्रस सर्कल युरेसद्वारा महिनावारी र सरसफाई सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
महिनावारीको समयमा महिलाहरुले भोग्नुपरेका समस्याहरुलाई ध्यानमा राखेर गुराँस विद्या सदनमा रहेको युवा रेडक्रस सर्कल युरेसले उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका सबै महिला विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
महिनावारी भनेको के हो ? महिनावारी कति समयमा हुन्छ ? महिलाहरुले महिनावारीका समयमा के कस्ता सचेतताहरु अपनाउनु पर्छ ? र महिनावारीको समयमा सरसफाईमा के कस्तो ध्यान दिनुपर्छ ? भन्ने जस्ता विद्यार्थीका मनमा रहेका यस्ता खालका प्रश्नहरुलाई समाधान गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन भएको युरेसकी सदस्य शिक्षक अरुणा थापाले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुलाई छाउपडी प्रथाको बारेमा पनि विद्यार्थीहरुलाई जानकारी दिने काम भएको थियो ।
कार्यक्रममा कक्षा १० की छात्र सम्पदा चोखालकोे प्रस्तुतिकरण रहेको थियो । चोखालले पावर पोइन्टका माध्यमबाट प्रस्तुतिकरण दिई विद्यार्थीहरुलाई सरल रुपमा बुझाउने प्रयास गर्नुभएको थियो ।
कार्यक्रममा गुराँस विद्या सदनका प्रधानाध्यापक निसान खड्का, गुराँस विद्या सदनका उपप्रधानाध्यापक बन्दना जोशी पौडेल तथा युवा रेडक्रस सर्कल युरेसका सदस्य शिक्षकद्वय रामु जि.सी र अरुणा थापा सहभागि हुनुभएको थियो ।
गुराँस विद्या सदनका प्रधानाध्यापक निसान खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन कक्षा ९ की छात्रा तथा युवा रेडक्रस सर्कल युरेस की अध्यक्ष सुहानी के.सीले गर्नुभएको थियो ।