बागलुङ, १४ साउन । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति बागलुङको आयोजनामा व्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ । शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा शहिद सप्ताहको सन्दर्भमा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीबिच डवलमेन व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएको हो ।
प्रतियोगितामा जैमिनी नगरपालिकाका बिजय थापा र खुमन पुनको टोली बिजेता बनेको छ । त्यसैगरी, पूर्वाधार बिकास कार्यालय बागलुङका प्रकाश श्रीस र चन्द्रबहादुर पुनको टोली उपबिजेता बनेको छ । प्रतियोगितामा १६ टिमको सहभागीता रहेको थियो । बिजेता टिमलाई नगद रु. ८ हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद रु.५ हजार, सहित मेडल र प्रमाणपत्र प्रदान गरिने संगठनका अध्यक्ष श्याम थापाले जानकारी दिनुभयो ।
बिजेता तथा उपबिजेता टिमलाई शहिद सप्ताहको अन्तिम दिन १५ गते हुने मुल समारोहमा पुरस्कार प्रदान गरिने अध्यक्ष थापाले बताउनुभयो । संगठनले बिभिन्न पेशागत आन्दोलनका क्रममा राज्यबाट शहिद बनाइएका शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको सम्झनामा स्मृति दिवस रचनात्मक कार्यक्रम गरी मनाउदै आईरहेको छ ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर खत्री, संगठनका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज तेजप्रसाद निउँरे र नेपाल व्याडमिन्टन संघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष श्याम थापाको अध्यक्षता, सहसचिव मदन सुवेदीको स्वागत र सचिव मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।