बागलुङ, १७ बैशाख । बागलङमा भोलिबाट अर्ना जेसीज कप फुटबल प्रतियोगिता सुरु भएको छ । अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको आईतबार उद्घाटन गरिएको छ । जेसिज बागलुङले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोह सहित ट्रफि सार्वजनिक गरिएको छ । प्रतियोगिताका खेलहरु सोमबारदेखि हुने आयोजनले जनाएको छ ।
बागलुङ जेसीजको आयोजनामा शुरु भएको प्रतियोगिता बैशाख २३ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका संयोजक अमर थापाले गरेका छन । संयोजक थापाले खेलकुदले देशका सवै नागरिकहरुलाई जोड्ने बताउँदै नेपालको खेल हुँदा सवै काम छोडेर आफुले हेर्ने गरेको बताउँदै जिल्लामा सुस्ताएको खेलकुद गतिविधिलाई जेसिज कपले पुनः चलायमान बनाउने बताए । उद्घाटन समारोहमा संयोजक थापाले प्रतियोगिताको विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफि सार्वजनिक गरेका थिए ।
खेलाडिको पहिचानसंगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उदेश्यले ‘जेसिज कप फुटबल’ प्रतियोगिताको आयोजना गरिएको बागलुङ जेसिजका अध्यक्ष सौरब श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत दिनेश शर्मा, जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का, बागलुङ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए।
बैशाख २२ गतेसम्म संचालन हुने प्रतियोगितामा साविकको धौलागिरी अञ्चलका ११ टिमले सहभागिता जनाएका छन् । आयोजकले आईतबार टाइसेट (खेल समय) सार्वजनिक गर्दै प्रतियोगिता नकआउट चरणमा हुने जनाएको छ । सोमबार प्रतियोगिताको पहिलो खेल भीमापोखरा खेलकुद विकास समिति विरुद्ध गुठी युनाइटेड, दोस्रो खेल नवउत्साही क्लब विरुद्ध तमान युवा क्लबर तेस्रो खेल गुठी युथ क्लब विरुद्ध मनसुन फुड्स एण्ड एग्रो प्रोडक्स प्रा.लि. विच हुने मुल संयोजक खत्रीले बताए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
जेसीज वर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत प्रतियोगिताका मुल संयोजक सौरभ खत्री र संचालन महासचिव अन्जिला श्रेष्ठले गरेकी थिइन । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा अर्ना वियर रहेको छ ।