अर्जुन कार्की
बागलुङ, २० फागुन । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले विगतका राष्ट्रपतिले संविधानको पालना नगरी पार्टीको कार्यकर्ताको भूमिका बढि देखाएकाले समस्या सिर्जना भएको बताएका छन् ।
शनिबार नेपाल शिक्षक संघ बागलुङको २२ औं जिल्ला प्रतिनिधि सभा एवं नवौं जिल्ला अविधेसनको उद्घाटन गर्दै पौडेलले राष्ट्रपति पद र संस्थाको मर्यादा कायम गराउनका लागि काँग्रेसले राष्ट्रपतिको उम्मेदवार आफ्नै पार्टीबाट विजयी गराउन चाहेको बताए ।
‘अहिलेको राष्ट्रपतिले संविधानको रक्षा गर्ने र देशको अभिभावकीय भूमिका निभाउने भन्दा पनि केपी ओलीको सहयोगीको भूमिकामा बढि देखिएकाले देशमा समस्या उत्पन्न भयो,’ उनले भने,‘अहिले आठ दलीय गठबन्धनको तर्फबाट हामीले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएका छौं । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि शेरबहादुर देउवाले जे भन्यो त्यही मान्ने होईन संविधान र लोकतन्त्रको रक्षाका लागि काम गर्नुपर्छ ।’
प्रतिनिधि सभा सदस्य समेत रहेका नेता पौडेलले शिक्षक संघले नीतिगत बहसमा पनि ध्यान दिन आग्रह गरे । ‘अहिले हामी प्रविधिकरण हुन सकेनौं भने कोही पनि काम लाग्दैनौं,’ उनी भन्छन्,‘ शिक्षक संघले समय सापेक्ष नीतिगत बहस अगाडि बढाउनुपर्छ । अबको शिक्षा कस्तो बनाउने त्यसका लागि शिक्षकहरुलाई के कस्ता सेवा सुविधा उपलब्ध गराउनुपर्छ भन्ने कुरामा शिक्षक संघले स्पष्ट कार्यदिशा दिनुपर्छ ।’
अहिले सार्वजनिक शिक्षामा सरकारको लगानी बालुवामा पानी भैरहेको उनको टिप्पणी थियो । शिक्षाको सम्पूर्ण दायित्व संघीय सरकारले लिनुपर्ने उनको भनाई छ । राज्यले शिक्षकलाई उत्साहित र क्रियाशील बनाउन नसक्दा शिक्षाको गुणस्तर ओरालो लागेको टिप्पणी गरे ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले देशलाई सही बाटो डो¥याउने जनशक्ति उत्पादन गर्ने जिम्मा शिक्षकको हातमा रहेको बताईन् । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति एवं गण्डकी प्रदेश सदस्य जितबहादुर शेरचन, नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष एवं बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति एवं गण्डकी प्रदेश सभा सदस्य दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, प्रदेश सभा सदस्य दिलमाया पौवीले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा नेपाल शिक्षक संघका संघीय सदस्य देबेन्द्र खत्री, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव सागर खरेल, नेपाली काँग्रेस बागलुङकी सचिव एवं बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, नेपाली काँग्रेस बागलुङका सचिव एवं जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा, पूर्व शिक्षक एवं निसीखोला—१ का वडाध्यक्ष चन्द्रसिंह राम्जाली, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य नारायण पौडेल, नेपाल शिक्षक संघ बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्यले बोले ।
नेपाल शिक्षक महासंघ बागलुङका पूर्व अध्यक्ष गोपालकुमार शर्मा, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष रमेश भट्टराई, नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष यज्ञ बास्तोला, नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष नगेन्द्र खत्री, नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वरठाकुर पौडेल, नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेल, नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सीता शर्मा र सञ्चालन सचिव अर्थ लक्ष्मीकान्त पौडेल राजेन्द्र र सहसचिव मदन कार्कीले गरेका थिए ।
उक्त अवसरमा तीन जनालाई मरोपरान्त सहित ५५ जना सेवा निवृत्त शिक्षकहरुलाई दीर्घसेवी सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक भएर पछि जनप्रतिनिधिको निर्वाचित भएकाहरुलाई पनि सम्मान गरिएको थियो ।
नबौं अधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ ।