बागलुङ, १६ फागुन । ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । नगरपालिकाले लगातार तीन पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्दै शिल्ड आफ्नो पक्षमा लिएको हो ।
बागलुङ नगरपालिकाले १८ स्वर्ण, १३ रजत र १० काश्य पदक जित्दै उपाधिको रक्षा गरेको छ । यस्तै बडिगाड गाउँपालिकलो चार स्वर्ण, १० रजत र १७ काश्य पदक जित्दै दोस्रो र ६ स्वर्ण, चार रजत र पाँच काश्य पदक जित्दै गलकोट नगरपालिका तेस्रो भएको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले बताए ।
विजेता, उपविजेता र तेस्रो भएको स्थानीय तहलाई नगद क्रमशः १५, १० र ९ हजार रुपैयाँ प्रदान गरिएको अध्यक्ष खड्काले बताए । उनले प्रतियोगिताका बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले सहभागिता जनाएको बताए ।
अध्यक्ष खड्काले ६ खेलका ४८ इभेन्टमा ९४ स्वर्ण, ९४ रजत र ११० काश्य गरी २९८ पदकको लागि ४ सय ८० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको बताए । जिल्ला स्तरीय प्रतियोगीताको विभिन्न खेलमा सहभागी विद्यार्थीबाट उत्कृष्ट खेलाडी छनोट गरेर प्रदेश स्तरीय खेलकुद प्रतियोगीतामा सहभागी गराईने छ ।
प्रदेश स्तरी खेलकुदमा सहभागी हुने खेलाडीको व्यवस्थापन जिल्ला खेलकुद विकास समितिले गर्नेछ अध्यक्ष खड्काले बताए । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका उत्कृष्ट खेलाडीहरु पालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाएका थिए ।









