पोखरा, ०२ माघ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु पुष्टि भएकामध्ये चालक दलका सदस्य , विदेशी नागरिक र पहिचान नखुलेका शवहरु काठमाडौं ल्याइने भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालक दलका सदस्य र विदेशी नागरिक र पहिचान नखुलेका शवहरु पहिचान परीक्षणका लागि काठमाडौं लगिने जनाएको हो । प्रतिष्ठानका निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले शव पहिचानको प्रक्रिया सुरु भइसकेको बताए । उनले शव व्यवस्थापन कार्य भइरहेकाले सो कार्य सम्पन्न नभएसम्म धैर्य गर्न आफन्तलाई अनुरोध गरेका छन ।
उक्त विमान दुर्घटनामा १५ जना विदेशी नागरिकको पनि मृत्यु भएको छ ।
यति एयरलाइन्सको विमान काठमाडौंबाट पोखराका लागि उडेको थियो । विमान पोखरा विमानस्थल अवतरण गर्ने क्रममा सेतीको खोँचमा दुर्घटना भएको थियो । विमानमा चालक दलका ४ सदस्यु ६८ जना यात्रु गरी ७२ जना सवार रहेका थिए ।
७२ जना यात्रु मध्ये हालसम्म ६९ जनाको शव भेटिएको छ भने ३ जनाको अवस्था अज्ञात रहेको छ । अज्ञात रहेका तिनै जना बालबालिका रहेका छन् । अझै पनि उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।










