बाग्लुङ, ४ मंसिर ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बागलुङमा मतदान सुरु भएको छ । जिल्लाभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ । बागलुङमा एक लाख ९२ हजार २२७ मतदाता रहेका छन् । महिला ९८ हजार ६३४ र पुरुष ९३ हजार ५८४ जना मतदाता रहेका छन् ।
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा क्षेत्र नम्बर १ मा धेरै मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ जना मतदाता रहेको छन् ।
प्रदेश तर्फ बागलुङ क्षेत्र नम्बर १ को (क)मा ५० हजार ५ सय ८० जना र (ख) मा ४६ हजार ८६ जना मतदाता रहेका छन्भने क्षेत्र नम्बर २ को (क)मा ५४ हजार ३ सय ३४ र (ख)मा ४१ हजार २ सय २७ जना मतदाता रहेको सूचना अधिकारी शर्माले बताए ।
बागलुङमा निर्वाचनका लागि १ सय ६ मतदानस्थल र २ सय ३१ केन्द्रबाट साँझ पाँच बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा मतदान गराउनका लागि बागलुङमा २ हजार ७ सय ९० जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए । उनले २ सय ३१ मतदान अधिकृत, २ सय ३५ सहायक मतदान अधिकृत, १ हजार १ सय ५५ सहायकस्तरका कर्मचारी, २ सय ३३ जना सहयोगी कर्मचारी र ९ सय २६ जना स्वयंसेवक मतदान केन्द्रमा खटाइएको बताए ।
यस्तै मतदानस्थलमा सुरक्षाका लागि एक हजार एक सय ३६ जना म्यादी प्रहरी र ६५९ जना नेपाल प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए । मतदानस्थलमा आवश्यकताको आधारमा सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए ।