काठमाण्डौं, ३० कात्तिक । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । आज बुधवार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको हो ।
यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर लक्ष्य भेटाएको हो । नेपालका लागि गुलशन झा र आरिफ शेखले सातौँ विकेटका लागि ६२ रनको साझेदारी गरे । गुलशन झा ३७ रनमा आउट भए भने आरिफ ३३ रनमा नटआउट रहे । यस्तै कुशल भुर्तेलले ३५ रन बनाए । बलिङतर्फ यूएईका रोहन मुस्तफाले तीन र हजरत बिलालले दुई विकेट लिए ।
यसअघि त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा एक सय ९१ रन बनाउँदा अलआउट भयो । यूएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए भने नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन तीन विकेट लिए । त्यस्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एकएक विकेट लिएका थिए ।
आजको जितसँगै नेपालले तीन खेलको शृङ्खलामा एक–एकको बराबरी गरेको छ । यसअघि भएको पहिलो खेलमा यूएई ८४ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम निर्णायक खेल भने आउँदो शुक्रवार हुनेछ ।
यो रोहितको कप्तानीमा भएको पहिलो जित हो ।