बागलुङ, ४ भदौ । बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने भएको छ ।
प्रिसियस एकेडेमी बागलुङको आयोजनामा शुक्रबारदेखि अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने लागेको विद्यालयले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
भदौ ५ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा संस्थागत १५ र सामुदायिक ३ गरी १८ विद्यालयका ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
बालबालिकाबीच आत्मीय सम्बन्ध कायम गर्दै सहकार्य र सद्भावको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष तथा खेल संयोजक राजनप्रसाद शर्माले जानकारी दिनुभयो। उहाँले खेलकुदले बालबालिकाको शारीरिक तथा मानसिक विकाससँगै शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन र स्वस्थ तथा सक्षम नागरिक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिताको छात्र तथा छात्रातर्फका विजेता टोलीले नगद १० हजार रुपैयाँ तथा उपविजेता टोलीले नगद ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सेमिफाइनलमा पुग्ने टोलीलाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, विधागततर्फ उत्कृष्ट डिफेन्डर र रेडरलाई नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ।
पत्रकार भेटघाट कार्यक्रम विद्यालयका अध्यक्ष तथा खेल संयोजक राजनप्रसाद शर्माको अध्यक्षता र शिक्षक प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो।







