बागलुङ, १७ मंसिर । बागलुङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
५० वर्षीया श्रीमती सितली शाहीको हत्या आरोपमा जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई आईतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । उनले शाहीको टाउको र दायाँ खुट्टामा गम्भिर चोट लागेको अवस्थामा श्रीमान र स्थानीयहरुले धौलागिरी अस्पताल बागलुङमा ल्याएको बताए ।
केसीले भने,‘शाहीलाई धौलागिरी अस्पताल बागलुङले मृत्त घोषणा गरेको छ । प्रारम्भिक अनुसन्धान र स्थानीयहरुले श्रीमानको कुटपिटबाट हत्या भएको हुनसक्ने बयान दिएपछि नेपालीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छौं ।’
श्रीमान नेपालीले लडेर घाईते भएको बयान दिएपनि घटनाको प्रारम्भिक अनुसन्धानले कुटपिटबाटै हत्या भएको देखिएको केसीले बताए । घट्नाबारे अनुसन्धान सुरु भएको र अहिले नै सबै कुरा खुलिनसकेको प्रहरीको भनाइ रहेको छ ।
नेपालीलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको केसीले जानकारी दिए ।










