बागलुङ, २७ माघ । बागलुङको काठेखोला गाउँपालिकामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ ।
गाउँपालिकास्तरीय आठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन पछि बोल्दै गाउँपालिका अध्यक्ष राजु थापाले खेलकुदका लागि काठेखोला उर्वरभूमि रहेको बताउँदै खेलकुद विकासका लागि खेल प्रतिक्षकहरुको व्यवस्थापन गर्ने बताउनुभयो ।
उहाँले विकास भनेको सडक र भवन मात्रै हो भन्ने मानसिकताबाट माथी उठेर गाउँपालिकाको चौतर्फी विकासका लागि पालिकाले आफ्ना कदमहरु अघि बढाईरहेको बताउनुभयो । ‘खेलकुदको विकास लागि धेरै कोणबाट सोचिरहेका छौं, खेलकुदका लागि काठेखोला उर्वरभूमी हो’ थापाले भन्नुभयो,‘स्वस्फूर्त अभ्यासले जे–जति प्रगति भैरहेको छ त्यसमा सन्तुष्ट छैनौं, गाउँपालिका तहबाटै खेल प्रशिक्षकहरु छिट्टै नियुक्त गर्छौं ।’

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले खेलकुद बालबालिका र युवापुस्ताको लागि अत्यावश्यक विधा भएको बताउनुभयो । युवा र बालबालिकालाई स्वस्थ्य र अनुशासित बनाउन खेलकुदको विकास र प्रवद्र्धन आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम लगायतले बोलेका थिए ।
बिहीबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबार सकिने छ । गाउँपालिकाको सामाजिक विकास शाखा, कला संस्कृति तथा खेलकुद बिकास समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भलिवल, कबड्डी, कराँते, एथलेटिक्सलगायतका विधाका खेलहरु हुने छन् ।
गाउँपालिका तहबाट छनौट भएका खेलाडिले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी जनाउने छन् । प्रतियोगितामा पालिका ११ विद्यालयको सहभागीता रहेको गाउँपालिकाका प्रबक्ता टिका संगम विकले जानकारी दिनुभयो ।









