पोखरा, ३ माघ । रोजगारको सिलसिलामा श्रीमान अमेरिका र श्रीमती अष्टेलियामा थिए । उनीहरूले पुसको अन्तिम साता काठमाडौंमा भेट्ने र पोखरा जाने योजना बनाएँ । अनि घर माइत पुग्ने र वृद्ध भएका बाआमालाई भेट्ने । अबदेखि दुई मुटु दुईतिर भएर नबस्ने । यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने ।
योजनाअनुसार पोखराका शिवकुमार गुरूङ अमेरिकाबाट पुस २७ मा काठमाडौं ओर्लिए । अष्टेलियादेखि अनुष्का गुरूङ पनि काठमाडौं ओर्लिइन । २ वर्षअधिमात्र उनीहरूले विवाह गरेका थिए । विवाहसँगै उनीहरू फेरि छुट्टिन विवश थिए, कास्की दाङसिङकी अनुष्का अष्ट्रेलियामा पढ्दै थिइन भने उनका श्रीमान शिवको अमेरिकामा व्यापार थियो ।
काठमाडौंबाट जुन जहाजमा उनीहरू पोखरा ओर्लिँदै थिए, त्यही जहाज बिहान करिब ११ बजे सेती खोँचमा दुर्घटनामा पर्यो । सँगै बाँच्ने कसम खाएका दम्पतिले एकै ठाउँमा ज्यान गुमाउनु पर्यो ।
७६ वर्षीय सुबेदार भक्तबहादुर र ७२ वर्षीय आमा बुद्धि सुब्बा गुरूङ छोराको बाटो हेरेर बसिरहेका थिए । तर, उनीहरूका नजरमा छोरा बुहारी परेनन । बाआमाले सडकमा नजर बिछ्याइरहे तर त्यही बाटो भएर छोराबुहारीको मृत्युको खबर आउँदा उनीहरू विक्षिप्त छन । आफैं डाँडामाथिका घाम बनेका उनीहरूले एकमात्र छोरा र बुहारीको पनि मृत्युको खबर सुन्दा विलापमा रहेका छन ।
अहिले उनीहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।









