Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

जिल्ला प्रशासन कार्यालय बागलुङद्वारा सार्वजनिक सुनुवाइ

bk logo final png
  • बागलुङखबर
  • २१ आश्विन २०८३, बुधबार २०:५६

बागलुङ २१ असोज । जिल्ला प्रशासन कार्यालय बागलुङले नागरिकका गुनासा, सुझाव तथा सार्वजनिक सेवा प्रवाहका विषयमा जानकारी लिन बागलुङ नगरपालिका–१४, नारायणस्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

सार्वजनिक सुनुवाइमा स्थानीय नागरिकले राष्ट्रिय परिचयपत्र वितरणमा भइरहेको ढिलाइ, बजार व्यवस्थापन, ग्यासको मूल्यवृद्धि, सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, यातायात, लागुऔषध नियन्त्रण तथा सार्वजनिक संरचना संरक्षणलगायतका विषयमा गुनासा तथा सुझाव राखेका थिए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी वडा कमिटीका सभापति राजेन्द्रबहादुर खड्का, दियासा खत्री, कमल कुमार जिसी, वडा बाल सञ्जालका अध्यक्ष समीर नेपाली, रमाकान्त पौडेल, नरेश्वर शर्मा, प्रकाश चालिसे, विद्यार्थी अस्मिता पौडेल, ऋषिराम सुवेदी, रामप्रसाद सापकोटा तथा वडा सदस्य चन्द्रा सुनारलगायतले आफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए।

उनीहरूले राष्ट्रिय परिचयपत्र वितरणमा भइरहेको ढिलाइका कारण विशेषगरी वृद्धवृद्धालाई समस्या परेको बताएका थिए। वडामा सञ्चालन भएका योजनाहरू विस्तार हुँदै गए पनि तिनको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन आवश्यक रहेको उनीहरूको भनाइ थियो। बजार व्यवस्थापनसँगै ग्यासको मूल्यवृद्धि र बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

स्थानीयले गाउँघरका विद्यालय आसपासमा मदिरा तथा सुर्तीजन्य पदार्थ खुला रूपमा बिक्री भइरहेको भन्दै त्यसको नियन्त्रण तथा अनुगमन प्रभावकारी बनाउन आग्रह गरेका थिए। पछिल्लो समय विद्युत् अवरुद्ध हुने समस्या बढेको तथा लागुऔषध प्रयोगको समस्या देखिएको भन्दै यसको नियन्त्रणसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग थियो।

त्यस्तै, पोके व्यवसायीका कारण स्थानीय पसलको व्यापारमा असर परेको भन्दै उनीहरूले गुनासो गरेका थिए। काठमाडौं जान घुमेर जानुपर्ने अवस्था रहेको भन्दै बलेवा विमानस्थल सञ्चालन गर्नुपर्ने मागसमेत राखेका थिए। नारायणस्थानका सार्वजनिक संरचनाको संरक्षण गर्नुपर्ने, सडक सञ्जालको अभावका कारण दाहसंस्कार गर्नसमेत समस्या हुने गरेको तथा सडकको अवस्था सुधार गर्नुपर्ने स्थानीयको भनाइ थियो।

स्थानीयले नारायणस्थानमा सडकको अवस्था सुधार गर्दै रिङरोड निर्माण गर्नुपर्ने, सडकमा सञ्चालन हुने सवारीसाधनको भाडा महँगो भएको भन्दै भाडा समायोजन गर्नुपर्ने तथा पछिल्लो समय निर्माण भएका सडकको प्रभावकारी अनुगमन गर्नुपर्ने मागसमेत राखेका थिए।

नागरिकका गुनासालाई सम्बोधन गर्दै बागलुङ नगरपालिका–१४, नारायणस्थानका वडाध्यक्ष चक्रबहादुर खत्रीले जनताका समस्या समाधान गर्न आफू तयार रहेको बताए। उनले सामुदायिक कुकुर व्यवस्थापनका लागि नगरपालिकासँग सहकार्य भइरहेको जानकारी दिए।

वडाध्यक्ष खत्रीले सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर जनताका चाहना पूरा गर्ने प्रयास भइरहेको बताए। सामुदायिक कुकुरलाई ‘कुकुर होस्टेल’मा लैजाने तथा नगरपालिकाले घरपालुवा कुकुरको दर्ता प्रक्रिया सुरु गरेको जानकारी दिँदै उनले घरपालुवा कुकुर दर्ता गर्न आग्रह गरे।

खानेपानीको समस्या समाधान गर्न प्राविधिक टोली बोलाइएको बताउँदै उनले बजार अनुगमनका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिने जानकारी दिए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए। राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गृह मन्त्रालयबाट प्राविधिक टोली खटाएर वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमार्फत काम गरिने उनले जानकारी दिए।

प्राविधिक समस्याका कारण नागरिकले दुःख पाउनुपरेको स्वीकार गर्दै उनले समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे। नागरिकबाट प्राप्त हुने सूचना सार्वजनिक सेवा तथा शान्ति सुरक्षाका लागि महत्वपूर्ण हुने भन्दै उनले प्रशासनलाई आवश्यक सूचना उपलब्ध गराउन आग्रह गरे।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गोविन्दप्रसाद पौडेलले केही समयमा नै सवारीसाधनको भाडादर समायोजन हुने बताए। राज्यका तर्फबाट समाधान गर्नुपर्ने समस्या समाधानका लागि आवश्यक पहल भइरहेको उनको भनाइ थियो।

भूमि प्रशासन कार्यालय बागलुङका प्रमुख सुरेश ढकालले भूमि सम्बन्धी समस्या समाधानका लागि कार्यालय तयार रहेको बताए। उनले नागरिकलाई आवश्यक सेवा तथा सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन केसीले समयमा योजना सम्पन्न गर्न नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको बताए। नागरिकका समस्या समाधान गर्न नगरपालिका तत्पर रहेको उनको भनाइ थियो।

नेपाल विद्युत् प्राधिकरण बागलुङका प्रमुख दिलीप मरासिनीले विपद्का कारण विद्युत् वितरणमा समस्या आएको बताए। जिल्लामै उत्पादन भएको विद्युत् केही समयपछि जिल्लामै प्रवाह हुने जानकारी दिँदै उनले विद्युत् आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाइने बताए।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्रप्रसाईले समाजमा हुने घटनालाई नियन्त्रण गर्न प्रहरीसँगै नागरिकको भूमिका पनि महत्वपूर्ण हुने बताए। नागरिक आफैं सचेत भएर सचेतना फैलाउन सके समाजमा हुने विभिन्न घटना न्यूनीकरण गर्न सकिने भन्दै उनले सचेतनामूलक कार्यमा नागरिकसँग सहकार्य गर्न प्रहरी तयार रहेको बताए।

कार्यक्रम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बागलुङ नगरपालिका–१४, नारायणस्थानका वडाध्यक्ष चक्रबहादुर खत्रीले स्वागत मन्तव्य दिएका थिए भने जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा तेजराज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक र सरकारी निकायका प्रतिनिधिबीच प्रत्यक्ष संवादमार्फत स्थानीय समस्या, गुनासा तथा समाधानका उपायबारे छलफल गरिएको थियो। कार्यक्रमले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता तथा नागरिकमैत्री प्रशासन निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki