बागलुङ, ८ असोज । बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने भएका छन्। भित्रका
बिहीबार अपरान्हदेखि बागलुङसहित देशका विभिन्न भूभागमा भारी वर्षा हुने पूर्वानुमान गरिएसँगै सम्भावित बाढीपहिरो र विपद्जन्य घटनालाई दृष्टिगत गरी बागलुङ नगरपालिकाका विद्यालय दुई दिन बन्द हुने भएका हुन् ।
नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आज र भोलि (असोज ८ र ९ गते) स्थानीय बिदा दिइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकाले पूर्वसावधानी स्वरूप नगरपालिकाभित्रका सबै विद्यालयमा दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरिएको उहाँको भनाइ छ ।
नगरपालिकाले जारी गरेको सूचनामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीलाई सम्भावित विपद्प्रति सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
दुई दिनको पठनपाठन पछि अन्य सार्वजनिक बिदासँग समायोजन गरी सञ्चालन गरिने शिक्षा शाखाले जनाएको छ । ‘प्याब्सन’ बागलुङका अध्यक्ष दल थापाले नगर शिक्षा शाखाबाट विद्यालय बिदाको सूचना ढिलो प्राप्त भएकाले केही संस्थागत विद्यालय भने बिहानैदेखि सञ्चालनमा आइसकेको बताउनुभयो ।
सूचना ढिलो प्राप्त भएका कारण खुलिसकेका विद्यालयहरूले मध्यान्हपछि पठनपाठन बन्द गर्ने निर्णय भएको उहाँको भनाइ छ । नगरपालिकाले सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई ध्यानमा राख्दै सबैलाई उच्च सतर्कता अपनाउन र अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।







