बागलुङ, १८ भदौ । कालीगण्डकी नदी किनारको जोखिम न्युनिकरणका लागि एकिन तथ्यांक निकाल्न पहल गर्ने भएको छ । विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले उक्त निर्णय गरेको विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
त्यसका लागि पुर्वाधार विकास, एकीकृत सेवा कार्यालयलाई प्राविधिक र अन्य जनशक्ती प्रयोग गरेर काम गर्न विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
भोटेकोशी बाढीमा ९ मीटर सम्मको बाढी आएको उल्लेख गर्दै कालीगण्डकी किनारमा त्यो अवस्था भएमा के कति घरहरुमा क्षति पुग्न सक्छ ? त्यसबाट कसरी मानवीय क्षति रोक्ने जस्ता पद्दती बनाउन पनि यो अध्ययन गर्न आवस्यक भएको आचार्यको भनाइ थियो ।
समितिको बैठकमा उपस्थित स्थानीय तहका प्रम्ख, उपप्रमुख, सुरक्षा निकाय, सरोकारवाला सरकारी कार्यालय, गैरसरकारी संस्था, रेडक्रस सोसाइटी समेतलाई यो तथ्यांक आवस्यक भएको र त्यो प्रशासनले एकीकृत गरेर राख्ने पनि आचार्यले बताए ।
पछिल्लो समय धौलागिरि हिमाल आसपासका कतिपय हिमतालमा पनि जोखिम हुनसक्ने तर्क र सचेतनाका विषय उठ्ने गरेका छन् । कालीगण्डकी नदीको श्रोत पनि हिमताल, हिमाल लगायतको स्थानमा भएकोले त्यसतर्फ पुर्व तयारीमा रहन आचार्यले सबैलाई आग्रह पनि गरेका छन् ।
जोखिमको आंकलन गरिसकेपछि कतिपय स्थानमा बस्ती स्थानान्तरणको सुझाव गर्न सकिने, कतिपय स्थानमा सुरक्षित उपायको खोजी गर्ने जस्ता काम गर्न सहज हुने भएपछि समितिले त्यस्तो अध्ययन गर्न उपयुक्त हुने ठहर गरेको हो ।
त्यस बाहेक जिल्लाभित्रका कतिपय स्थानमा भैरहेका जोखिम, यसअघि भएका बाढी पहिरो पीडितको अवस्था बुझ्ने र उनीहरुको समेत तथ्यांक निकाल्ने काम गर्न पनि बैठकले छलफल अगाडि बढाएको एक सहभागिले बताए ।
विशेषगरी ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा यस्ता पीडितहरु धेरै रहेको सरकारी तथ्यांक छ । उनीहरु बाहेक मनसुनजन्य विपद्बाट अझै धेरै समस्या आइरहने भएकोले सचेत रहने, भोटेकोशीमा बेपत्ता भएका जिल्लाका परिवारलाई राहत के कस्तो दिने भन्ने समेत तयारी गर्न समितिले काम थालेको हो ।
हाल भोटेकोशी बाढी पीडितका लागि जिल्लाबाट नगद रकम मात्र प्रधानमन्त्री राहत कोषमा पठाइएको छ । जिन्सी संकलन भएको अवस्थामा पनि पठाउन सडकको समस्या भएकोले जिल्लाभित्रको समस्या समाधानका लागि पनि जोहो गर्न पहल गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए ।







