बागलुङ १४ भदाै। बागलुङमा अवैध रूपमा काठसहित तीन जना पक्राउ परेका छन् ।
काठेखोला गाउँपालिका–६ बाट बिहुँबाट अवैध रुपमा लिएको एक ट्रक काठसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
ना ५ ख २३७६ नम्बरको ट्रकमा काठ लुकाएर लैजाँदै गर्दा चितवनको राप्ती नगरपालिका ११ का २६ वर्षीय बुद्धीलाल प्रजा, बागलुङको कोठेखोला गाउँपालिका–६ बिहुँका २७ वर्षीय खिमानन्द कँडेल र ट्रक चालक निसीखोला गाउँपालिका–६ का ३३ वर्षीय श्याम बुढा मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाइँले जानकारी दिए ।
बिहुँबाट अवैध रुपमा काठ ओसारपसा भएको सूचना आएपछि प्रहरीले नगरानी बढाएको भन्दै ट्राकमा लोड गरिसकेपछि नियन्त्रणमा लिएको उनको भनाइ छ । नियन्त्रणमा लिएका तीन जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र काठ डिभिजिन वन कार्यालयले नापजाच र अनुसन्धान गरि रहेको प्रसाइँले बताए ।
प्रहरीले ट्रक र काठसहित पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालय बागलुङको जिम्मा लगाएको छ । चिलाउनी, उत्तिस लगायतका काठ ट्रकमा लोड गरिएको छ । कुनै पनि काठमा टाँचासमेत नलगाएको उनको भनाइ छ ।
प्रहरी उपरीक्षक प्रसाइँले भने – “बिहुँबाट पहिलेदेखि नै काठ बाहिर पठाउने काम हुँदै आएको रैछ, यस पटक सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका हौँ, आवश्यक प्रक्रिया अगाडि बढाउन र अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएका छौँ ।”







