बागलुङ, २३ साउन । बागलुङमा डेङ्गीका विरुद्ध खोज र नष्ट अभियान सरु गरिएको छ । बागलुङमा पछिल्लो समय धेरै संख्यामा डेङ्गीका विरामी भेटिएपछि डेङ्गीका विरुद्ध खोज र नष्ट अभियान सुरु गरिएको हो ।
बागलुङमा डेङ्गी सङ्क्रमितको संख्या दुई सय ४१ पुगेपछि बिहीबारदेखि जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन उक्त अभियान सुरु गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताउनुभयो ।
“टोल र समुदायस्तरमा डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि सचेतना जगाउन अभियान सुरु गरिएका हो”, उहाँले भन्नुभयो, “डेङ्गी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्छ ।” जनस्वास्थ्य कार्यालयको अगुवाई तथा बागलुङ नगरपालिकाको स्वास्थ्य शाखालगायत विभिन्न संघसंस्था र नागरिक समूहको संयुक्त पहलमा उक्त अभियान सञ्चालन हुने जनाइएको छ ।
डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने प्रमुख शर्माको भनाइ छ । डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने उहाँले बताउनुभयो । डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि स्थानीय समुदायकै बढी भूमिका हुने उहाँको भनाइ छ ।
डेङ्गी रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव छ । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गीबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने प्रमुख शर्माले बताउनुभयो ।
डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रसस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक बताउँछन् ।
असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रुप लिने सक्ने बताइन्छ । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको छ । डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गर्छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको छ ।







