बागलुङ १२, फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङमा मतपत्र आइपुगेको छ ।
बागलुङको दुई वटा निर्वाचन क्षेत्रका लागि दुई लाख सात हजार प्रत्यक्ष र दुई लाख १३ हजार समानुपातिक तर्फको मतपत्र आएको हो ।
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ र निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा मतपत्र आएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो ।
रिजालका अनुसार बागलुङ क्षेत्र नम्बर एकमा एक लाख दुई हजार र समानुपातिक तर्फको एक लाख ११ हजार मतपत्र आइतबार प्राप्त भइसकेको छ । यस्तै आइतबार नै बागलुङ क्षेत्र नम्बर २ को कार्यालय रहेको बुर्तिबाङमा समेत मतपत्र पुगेको हो ।
बागलुङ क्षेत्र नम्बर दुईका लागि प्रत्यक्ष तर्फ एकलाख दुई हजार र समानुपातिक तर्फ एक लाख दुई हजार नै मतपत्र प्राप्त भएको हो । दुई वटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामाग्री समेत आइसकेक रिजालले जानकारी दिनुभयो ।
उहाँले छेकाबार, मतपेटिका, मतदानका लागि आवश्यक अन्य सामाग्री समेत कार्यालयमा आइसकेको बताउनुभयो ।
निर्वाचनमा बागलुङमा दुई हजार ६० जना कर्मचारी, ६३७ नेपाल प्रहरी, एक हजार २९८ निर्वाचन प्रहरी परिचालन गरिएको छ । यस्तै निर्वाचनमा नेपाली सेना र सशस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ ।
बागलुङमा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु गरी दुई हजार ६० जना कर्मचारी खटाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
बागलुङमा २३० मतदान अधिकृत, २३० सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्रमा अन्य सात जनाका दरले एक हजार ६१० कर्मचारी परिचालन गरिने तयारी भएको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो ।
निजामती कर्मचारीबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतमा प्राथमिकता दिइएको र अपुग कर्मचारीलाई शिक्षकबाट खटाउन थालिएको छ ।
बागलुङमा सुरक्षा संवेदनशिलता, मतदाताको संख्या घटबढ तथा पायक पर्ने स्थान लगायतका कारण एक मदतानस्थल थप गरेको र एक मतदना केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको हो ।








