बागलुङ, २५ चैत । ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजित ‘कालिका कप’ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि भिडन्त सोमबार अर्थात आज हुने भएको छ ।
उपाधिका लागि जैमिनी नगरपालिका र गलकोट नगरपालिका भिड्ने भएका छन् ।
आईतबार भएको सेमिफाइनल खेलमा जैमिनी नगरपालिकाले काठेखोला गाउँपालिकालाई र गलकोट नगरपालिकाले सिदार्थ चश्मा घरलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा जैमिनी नगरपालिकाले पहिलो सेट २५–२३, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्यो भने दोस्रो सेमिफाइनल खेलमा गलकोट नगरपालिकाले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१९ ले जित्दै उपाधि नजिक पुगेको हो ।
फाइनल खेल सोमबार हुने आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष डा. कुमार खड्काले बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाइनल पुग्ने समुहलाई २५ हजार तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।







