विराटनगर, ३ फागुन । मोरङको बेलबारीमा नाबालिका छोरीसहित पोखरीमा हामफालेकी महिलाको उद्धार गरिएको छ। उपचारका लागि पठाइएपनि शिशुको भने मृत्यु भएको छ।
मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीका अनुसार बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित माछा पोखरीमा हामफालेकी थिइन्।
घटना शुक्रबार साँझ ७:३० बजेतिरको हो। नाबालिका छोरीलाई लिएर निस्किएकी प्रीतिले घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको पनैलाल चौधरीको माछा पोखरीमा हामफालेको इन्स्पेक्टर ओलीले बताए। हामफालेको देखेपछि स्थानीयले पोखरीबाट उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा पठाएका थिए। अस्पताल पुर्याउनसाथ राति ८:३० बजेतिर शिशुलाई भने चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
अवस्था गम्भीर भएकाले आमाको पनि आईसीयूमा राखेर उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। शिशुसहित आमाले पोखरीमा हामफाल्नुपर्ने कारण पत्ता लागेको छैन।
‘