Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

महिला कलाकारलाई अपशब्द बोलेर आत्मरति लिँदारहेछन्

  • ३० श्रावण २०७७, शुक्रबार १७:४८

२० साउन, काठमाडौं । मलाई ‘कन्ट्रोभर्सी’ सित डर लाग्छ– अन्तरवार्ता सुरु हुनुअगाडि नायिका सञ्चिता लुईंटेलले ‘दुःख’ पोखिन् । सायद यही डरले गर्दा होला, उनले यो अन्तरवार्ताका लागि पनि निकै आनाकानी गरेकी थिइन् । केही विवादित विषयहरुमा प्रवेश नगर्ने पूर्वसहमतिपछि मात्रै हाम्रो यो संवाद अघि बढेको थियो ।

सञ्चिता मिडियामा कम आउँछिन् । अन्तरवार्ताबाट सकभर तर्किन्छिन् । बेडरुमदेखि बाथरुमसम्मका निजी कुराहरु यूट्यूवमा छरपष्ट पार्ने नायिकामा उनी पर्दिनन् । उनका नायक श्रीमान निखिल उप्रेतीलाई पनि जहाँसुकै अन्तरवार्ता दिन रोक्छिन् ।

सार्वजनिक सरोकारका विषयहरुमा चाहिँ सञ्चिताको ध्यान निकै गइरहेको हुन्छ । सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहने उनी चर्चामा रहेका राजनीतिक, सामाजिकदेखि आध्यात्मिकसम्मका मुद्दाहरुलाई चासोपूर्वक पछ्याउने गर्छिन् ।

तर, आफ्ना व्यक्तिगत विचार सामाजिक सञ्जालमा अभिव्यक्त गरिहाल्न भने सक्दिनन् । किनकि उनलाई ‘कन्ट्रोभर्सी’ सित डर लाग्छ । त्यसैले फेसबुक–इन्स्टाग्राममा आफ्ना नयाँ–नयाँ फोटो अपलोड गरेरै सामाजिक सञ्जालको तिर्खा मेट्छिन् ।

केवल १७ वर्षको उमेरमा ‘अप्सरा’ चलचित्रबाट डेब्यू गर्दा सञ्चिता दुब्ली–पातली र टिठलाग्दी थिइन् । उनको निर्दोष अनुहार र शालीन अभिनयलाई दर्शकले रुचाए । फिल्म इन्डष्ट्रीमा स्थापित हुन उनलाई समय लागेन । उनले ‘कलिउडकी अप्सरा’ को संज्ञासमेत पाइन् ।

किशोरावस्थामै हतारिएर वैवाहिक जीवनमा प्रवेश गर्दा उनको करिअरको रथ डग्मगायो । तर, ढलेन । सन्तानप्राप्तिपछि भने उनी आफैं फिल्मबाट केही समय टाढा भइन् । एक वर्षको अन्तरालमा जन्मेका छोरा र छोरीको हेरविचारमा नै केन्द्रित भइन् सञ्चिता । छोराछोरी हुर्काउने क्रममा आफ्नो शरीर ‘मेन्टेन’ गर्न पनि भ्याइनन् । अब चाहिँ उनी फेरि स्लिम बन्ने चक्करमा छिन् ।

शरीर मोटाए पनि सञ्चिताको सुन्दरतामा ह्रास आएको छैन । बरु कतिपयले उनलाई पहिलेको भन्दा राम्री देख्छन् ।

मैले पनि भनिदिएँ, ‘तपाईं त मोटाएर झन् राम्री हुनुभएछ ।’

उनी त खुशी हुनुको साटो खिस्रिक्क पो परिन् । खासमा उनलाई ‘मोटाएको’ भन्ने शब्द नै चित्तमा गढ्दो रहेछ ।

‘जसले भेट्दा पनि पहिलो प्रतिक्रिया उही हुन्छ : कस्तो मोटाएको ?’ उनले चित्तदुखाइ गरिन्, ‘अब दुब्लाएर देखाउँछु ।’

पछिल्लो एक महिनामा आफू डेढ किलोजति घटेको उनले सगर्व सुनाइन् । यद्यपि, फ्याङ्लो लुगा लगाएकी हुनाले उनको वास्तविक मोटोपनाबारे अनुमान गर्न मलाई कठिन भयो । फेरि, आज हाम्रो अन्तरवार्ताको मुल मुद्दा सञ्चिताको फिटनेस वा सुन्दरता थिएन  । तसर्थ यो विषयलाई थाती राखेर म मुद्दामा प्रवेश गरेँ ।

०००

अहिले नेपाली चलचित्र क्षेत्रमा विभिन्न खाले स्क्यान्डलहरु चलिरहेका छन् । त्यसमध्ये पछिल्लो समय चर्चामा रहेको विषय चाहिँ चलचित्र क्षेत्रभित्रको लैंगिक भेदवाव र ‘ब्याड टच’ हो । नायिका साम्राज्ञी लक्ष्मीदेखि शाह र अभिनेता भुवन केसीबीचको यो विवाद अदालतसम्म पुगेको छ ।

यही विवादको सेरोफेरो र नेपाली चलचित्रमा महिला कलाकारका सुखदु:खबारे सञ्चितासँग मैले प्रश्नका गुजुल्टा फुकाएँ । गुजुल्टोबाट निकालेर उनलाई सोधिएको पहिलो प्रश्न थियो, के अहिले चर्चा भएजस्तो नेपाली चलचित्रमा महिला कलाकारलाई विभेद छ ?

अपेक्षित प्रश्न भएकाले सायद जवाफका लागि उनी पूर्णरुपमा तयार थिइन् । धाराप्रवाह दिन थालिन् ।

‘नेपाली समाजका हरेक क्षेत्रमा लैंगिक विभेदका अवशेषहरु छन् नै । समयक्रममा यो विभेद कम हुँदै त गएको छ, तर निमिट्यान्न भएको छैन । चलचित्र क्षेत्रको अवस्था पनि यही हो । फेरि, लैंगिक समानता भनेको रातारात हासिल हुने कुरा पनि होइन ।’

सञ्चिताले रोचक उदाहरण दिइन्, ‘जस्तो कि, हाम्रो शरीरमा दुईवटा हातलाई नै हामीले समान व्यवहार गर्दैनौं । कतिपय मानिसहरु केही चिज देब्रे हातले दिएको रुचाउँदैनन् नि । यो पनि एकप्रकारको रुढिवाद नै त हो । त्यस्तै रुढिवाद महिला–पुरुषलाई समाज र राज्यले गर्ने व्यवहारमा पनि छ ।’

‘त्यसो भए…’ पूरक प्रश्न तेर्स्याउन लाग्दा उनले रोकिन् । उनको जवाफ सकिएकै रहेनछ ।

‘तर, महिला र पुरुषलाई प्रकृतिले अलग–अलग विशेषता दिएको छ । त्यसअनुसार घर–परिवारमा कामको जिम्मेवारी बाँडफाँड हुन्छ । पुरुषले गर्ने काम महिलाले नसक्ने वा महिलाले गर्ने काम पुरुषले नसक्ने भएर होइन । कुन काममा कसको अभिरुचि र दक्षता बढी हुन्छ उसैले गर्ने हो । महिलासँग आमा बन्ने शक्ति हुन्छ, जुन पुरुषसँग हुँदैन । पुरुषले चाहेर पनि बच्चा जन्माउन सक्दैनन् ।’

‘सक्छन् त ?’ उनले मलाई नै सोधिन् ।

‘अहँ, कहाँ सक्नु,’ मैले सही थापेँ ।

‘अनि पुरुषले जस्तो महिलाले गर्न नसक्ने कामहरु पनि थुप्रै छन् । त्यसो भएकाले हामीले यो तथ्यलाई मनन गर्नुपर्छ कि न महिला मात्रैले सृष्टी चल्छ न पुरुष मात्रैले । सृष्टी त के कुरा, एउटा परिवार पनि राम्रोसँग चल्दैन ।’

यति भनेर सञ्चिता मौन भइन् ।

‘त्यसो भए…’ मैले अर्को प्रश्न सोध्न नपाउँदै फेरि बोल्न थालिन् ।

‘हरेक महिलाले आफूलाई शक्तिको प्रतीक मान्नुपर्छ । त्यस्तो आत्मविश्वास र गौरवपूर्ण सोच महिलाले राख्नुपर्छ । आफूलाई कमजोर किन सोच्ने ? कमजोर सोच्नु नै कमजोरी हो ।’

उनी फेरि रोकिइन् ।

‘अब म तपाईंको प्रश्नमा आउँछु ।’

उनको खास उत्तर त भर्खर पो सुरु हुँदै रहेछ ।

‘चलचित्र क्षेत्रमा विभेदको कुरा गर्दा तपाईंले आफूलाई कहाँ कसरी प्रिजेन्ट गर्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यो सधैँ प्रकटरुपमा व्यक्त हुने कुरा पनि होइन । तपाईंले अरुको हाउभाउ र व्यवहारले विभेदको महसुस गर्नुभएको हुन्छ । मलाई लाग्छ, यदि तपाईंले कुनै बेला त्यस्तो महसुस गर्नुभयो भने तत्काल प्रतिवाद गर्नु नै सबैभन्दा राम्रो हो । त्यो आत्मविश्वास कुनै पनि महिला कलाकारले राख्नुपर्छ । सायद यही आत्मविश्वासले गर्दा होला, मैले १८ वर्ष चलचित्र क्षेत्रमा काम गर्दा कहिले पनि विभेदको सामना गर्नु परेन ।’

चलचित्र क्षेत्रमा पनि ब्याड टच भनेको ब्याड नै हुन्छ । त्यसलाई सहज मान्न सकिन्न । नयाँ नायिकाहरुलाई मेरो सुझाव के छ भने यस्ता कुराहरु उनीहरुले आफ्नो मनभित्रै गुम्स्याएर  राख्नुहुन्न

यति बोलिसकेर सञ्चिताले लामो सास फेरिन् । पानी पिइन् । मुस्काउँदै उत्तर सकिएको जनाउ दिइन् । यतिञ्जेल टेबलमा दुई थान कफी खडा भइसकेका थिए । म चाहिँ करिब १५ मिनेटपछि दोस्रो प्रश्न राख्ने मौका मिलेकोमा हर्षित भएँ ।

‘फिल्म उद्योगमा प्रवेश गर्न चाहने नयाँ युवतीहरु सुरुमै कास्टिङ काउच (निर्माता–निर्देशकको शोषण) मा पर्ने गरेको चर्चा सुनिन्छ । तपाईंले त्यस्तो केही भोग्नु परेको थियो ?’

‘अहँ, ममाथि त्यस्तो केही भएन,’ उनले निर्धक्कसाथ भनिन् ।

यो जवाफको लामो ब्याख्या गर्लिन् भनेर मैले केहीबेर पर्खिँए । उनीचाहिँ अर्को प्रश्नको प्रतिक्षामा देखिइन् ।

‘सजिलै कसरी इन्ट्री पाउनुभयो त ?’ मैले नै सोधेँ ।

‘मलाई डा. भोला रिजालले ल्याउनुभएको हो । उहाँले सुरुमा ‘अप्सरा’का लागि अफर गर्दा मैले क्यामरा फेस कहिल्यै गरेको थिइनँ । कुनै प्रशिक्षण लिएको थिइनँ । मैले उहाँलाई यो कुरा भनेपछि उहाँले वीरेन्द्र हमालको क्लास लिन सुझाउनुभयो । मैले करिब ८–१० दिनको छाटो कोर्स गरेँ । बसन्त श्रेष्ठकहाँ नृत्य सिकेँ । त्यसपछि बल्ल फिल्ममा फाइनल भएको हुँ । त्यहाँ कास्टिङ काउचको कुनै गुञ्जायस नै थिएन ।’

महिला कलाकार भएको छाउँमा छाडा जोक्सहरु भन्ने वा अश्लिल शब्द प्रयोग गर्ने कुरालाई पनि यौन दुर्व्यवहारका रुपमा लिने गरिन्छ । यस्तो सञ्चिताले कति भोगिन् ?

‘यस्तो प्रवृत्ति चलचित्र क्षेत्रमा मात्र नभएर सबैतिर छ । जुनसुकै कार्यालयमा पनि महिला कर्मचारीले यस्तो खालको परिस्थिति सामना गरेका हुन सक्छन् । मेरो हकमा भन्नुपर्दाचाहिँ मेरो अगाडि कसैले यस्तो कुरा निकाल्न खोज्यो भने तुरुन्तै सचेत गराइहाल्छु । नसुनेझैं गर्ने वा हाँसेर टार्ने बानी मेरो छैन ।’

सञ्चिता सुरु–सुरुमा सुटिङमा जाँदा आफ्नी आमालाई साथ लैजान्थिन् । उनले निर्मातासँग गरेको सम्झौतामा नै एकजना सहयोगी सुटिङ स्पटमा ल्याउन सक्ने व्यहोरा उल्लेख थियो । अहिले पनि नयाँ नायिकालाई फिल्म खेलाउँदा यस्तो सुविधा दिइन्छ । उनीहरुले आफ्नो सहजताका लागि एकजना सहयोगी ल्याउन सक्छन् । तेस्रो फिल्मदेखि भने सञ्चिता एक्लै जान थालिन् ।

‘चलचित्रमा अभिनय गर्दा महिला कलाकारले भोग्नुपर्ने अन्य अप्ठेराहरु के–के हुन् ? के उनीहरुमाथि सुटिङ स्पटमै पनि सेक्सुअल ह्यारेसमेन्टको गुञ्जायस रहन्छ ? ‘गुड टच’ र ‘ब्याड टच’ कसरी छुट्याउने ? तपाईंको आफ्नै भोगाइ र अनुभव कस्तो छ ?’

सञ्चितालाई भारी पुग्ने गरी मैले एकसाथ चार प्रश्न धकेलेँ । उनले अन्तिम प्रश्नबाट उत्तर दिन सुरु गरिन् ।

‘वास्तवमा भन्नुपर्दा मैलेचाहिँ त्यस्तो केही भोग्नुपरेको छैन । मैले जति पनि चलचित्रमा काम गरेँ, सबैमा पारिवारिक माहोल पाएँ । गलत मनसाय भएका मान्छे नै देखिनँ भन्ने त होइन । तर, ममाथि त्यस्तो गलत व्यवहारचाहिँ कसैले देखाएन ।

हाम्रो चलचित्र क्षेत्र सानो छ । त्यतिबिघ्न प्रोफेसनल पनि भइसकेका छैनौं । हामी निर्माता, निर्देशक र अन्य सहकर्मीलाई दाई, दिदी, अंकल, आन्टी जस्तो पारिवारिक साइनो लगाएर कुरा गर्छौंं । चलचित्रको सुटिङ स्पटमा ५०–६० देखि सय जनासम्म मान्छे हुन्छन् । एकप्रकारले हाम्रो घरभित्रकैजस्तो माहोल सुटिङमा हुन्छ । यस्तो माहोलमा सेक्सुअल ह्यारेसमेन्टको खासै गुञ्जायस हुन्न । सयमा एक–दुईजना गलत प्रवृत्तिका मान्छेहरु छन् भने पनि उनीहरुलाई पन्छाउन सकिन्छ ।

मैले चलचित्रमा नायकले भन्दा बढी पारिश्रमिक लिएर पनि काम गरेको छु तर नायक आफूभन्दा धेरै जुनियर वा नयाँ भएको अवस्थामा मात्र

जहाँसम्म ‘गुड टच’ र ‘ब्याड टच’ को प्रश्न छ, योचाहिँ तपाईंले सहजै महसुस गर्न सक्ने कुरा हो । कसैले टच गर्नु नै समस्या होइन । निर्देशकले सिकाउने क्रममा, सहकलाकारले अभिनय गर्ने क्रममा टच नगरे त सुटिङ सम्भव नै हुँदैन । तर, कुनै टचले तपाईंलाई असहज अनुभव भएको छ भने तत्काल रियाक्ट गरिहाल्नुपर्छ, ताकि उक्त व्यक्तिको मनोबल नबढोस् । यदि तपाईंले रियाक्ट गर्नुभएन भने उसले त्यो व्यवहार दोहोर्याउँछ । अझै अघि बढ्न खोज्छ । तसर्थ रियाक्ट गर्नुपर्छ ।

तर, रियाक्ट गर्दा झन् नायिकालाई नै अप्ठेरो परिस्थिति पो आउँछ कि ?    

हो, त्यस्तो लाग्न सक्छ । विशेषत नयाँ कलाकारहरुलाई यो अवस्थाको कसरी सामना गर्ने भन्ने अलमल हुन्छ । चलचित्र क्षेत्रमा यस्तै नै हो कि भन्ने पनि उनीहरुले सोच्लान् । तर, त्यसरी सोच्नु भएन । चलचित्र क्षेत्रमा पनि ब्याड टच भनेको ब्याड नै हुन्छ । त्यसलाई सहज मान्न सकिन्न ।

नयाँ नायिकाहरुलाई मेरो सुझाव के छ भने यस्ता कुराहरु उनीहरुले आफ्नो मनभित्रै गुम्स्याएर  राख्नुहुन्न । चलचित्रमा सयौं जना हुन्छन्, उनीहरुमध्ये कोही न कोही त तपाईंका विश्वासिला होलान् नि । उनीहरुलाई आफ्ना कुरा सेयर गर्न सकिन्छ । त्यो पनि नसके घरमा गएर आफ्नो परिवारलाई सुनाउनुस । परिवारका सदस्यले दिने सुझावले तपाईंलाई मार्गदर्शन गर्न सक्छ ।

फेरि पनि, मेरो पहिलो जोडचाहिँ ‘अन द स्पट रियाक्सन’ नै हो । यस्ता घटनामा आफूले चलचित्रबाटै हात धुनु पर्ला कि, करिअर बिग्रेला कि भनेर डराउने होइन । जोखिम मोलेर पनि प्रतिवाद गर्ने हो । गम्भिर खालको समस्या भोग्नुपर्यो भने करिअरलाई दाउमा लगाउन पनि तयार हुनुपर्छ ।

सुटिङ स्पटमा नायक र नायिकालाई गरिने व्यवहारमा फरकपना हुने गरेको कुरा आएको छ । यसमा पनि तपाईंको अनुभव बताइदिनुस् न ? 

योचाहिँ तपाईं आफूमा डिपेन्ड गर्ने कुरा हो । चलचित्र क्षेत्रमा तपाईंले आफ्नो स्ट्याटस जस्तो बनाउनुभएको छ, त्यसको रिफ्लेक्सन हरेक ठाउँमा हुन्छ । सुटिङ स्पटमा पनि । त्यहाँ लैंगिक आधारमा भन्दा पनि तपाईंको स्टारडमको आधारमा मानसम्मान दिइन्छ ।

सुटिङ स्पटमा पुरुष कलाकारको तुलनामा महिला कलाकारले भोग्नुपर्ने अप्ठेराहरु त धेरै हुन्छन् नै । जस्तो कि आउटडोर सुटिङमा सबैभन्दा ठूलो समस्या ट्वाइलेटको हुन्छ । काठमाडौं बाहिर, दुरदराजमा सुटिङ गर्न जाँदा ट्वाइलेट कहाँ पाउने ? पुरुषहरुलाई यसले ठूलो समस्या नहोला, तर महिलाको लागि जटिल हुन्छ । हाम्रो देशमा अझै पनि धेरै ग्रामीण क्षेत्रमा शौचालय अभावले खुल्ला स्थानमा दिसापिसाब गर्ने गरिन्छ । त्यहाँ सुटिङ गर्न जाँदा महिला कलाकारसँग पनि अरु विकल्प हुँदैन । यस्ता अप्ठेराहरु अरु पनि छन् ।

पारिश्रमिकको कुरामा पनि महिला र पुरुष कलाकारमा स्पष्ट अन्तराल छ । यो स्वभाविक हो कि लैंगिक विभेद नै हो ?

यो विषयमा हामीले पटक–पटक बोल्दै आएका छौं । यो पनि लैंगिक विभेद नै हो । यो यही समाजको प्रतिबिम्ब हो, जहाँ बराबरी श्रम गर्दा पनि पुरुषको तुलनामा महिलाले न्यून पारिश्रमिक पाउँछन् ।

मैले चलचित्रमा काम गर्दा नायकले भन्दा बढी पारिश्रमिक लिएर पनि काम गरेको छु । तर, नायक आफूभन्दा धेरै जुनियर वा नयाँ भएको अवस्थामा मात्र । यदि हिरो मेरै बराबरीको छ भने उसले मैलेभन्दा धेरै बढी पाउँछ । यो प्रथा अहिले पनि विद्यमान छ ।

चलचित्र क्षेत्रमा आवद्ध महिलाहरुलाई नेपाली समाजले हेर्ने दृष्टिकोण अझै पनि राम्रो छैन भन्ने गरिन्छ । तपाईंले चाहिँ कस्तो अनुभव गर्नुभएको छ ?

यो पनि तपाईं आफूमा डिपेन्ड गर्ने कुरा हो । तपाईं सही ठाउँमा हुनुपर्यो । त्यसो भयो भने अरुले कुरा काटेर केही नापिदैन । तपाईंको बोली–व्यवहारका आधारमा दर्शकले तपाईंलाई मूल्यांकन गरिरहेका हुन्छन् । मिडियाले त्यहीरुपमा तपाईंलाई प्रिजेन्ट गरिरहेका हुन्छन् । यसले तपाईंको एउटा छवि बनेको हुन्छ । समाजले पनि त्यही छविका आधारमा तपाईंलाई व्यवहार गर्छ । राम्रो छवि बनाउनुभएको छ भने राम्रो नजरले हेर्छ, खराब छवि छ भने खराब नजरले नै हेर्छ । तसर्थ आफू सही हुनुपर्यो ।

तपाईंले भनेजस्तो चलचित्रकर्मीलाई समाजले हेर्ने दृष्टिकोण नै राम्रो छैन भन्न मिल्दैन । कलाकारहरुले धेरै सम्मान र इज्जत पाउँछन् । म बाहिर सडकमा निस्केँ भने नचिनेका मान्छेहरु पनि ध्यान दिएर हेर्नुहुन्छ । बोल्न खोज्नुहुन्छ । सेल्फी खिच्न, अटोग्राफ माग्न आउनुहुन्छ । हामीलाई धेरै कार्यक्रमहरुमा निम्त्याइन्छ । हामीले लेखेका–बोलेका कुराहरु चासोपूर्वक सुनिन्छ । यो भनेको सम्मान हो । हाम्रो पेशाप्रतिको सम्मान । यसमा त मैले गर्व गर्न सक्छु नि । हामीले आफ्नो मर्यादामा बस्यौं भने समाजबाट पनि सकारात्मक व्यवहार पाउर्छौं । मेरो अनुभवले यही भन्छ ।

सामाजिक सञ्जालमा सबैभन्दा बढी तुच्छ गाली खानेहरु पनि त कलाकारहरु नै छन् । अझ महिला कलाकारहरुमाथि त अत्यधिक अपशब्द प्रयोग भइरहेका हुन्छन् । यो प्रवृत्तिबाट तपाईं कति पीडित हुनुभएको छ ?

अवश्य पनि यो समस्या बढिरहेको छ । आजकाल धेरै व्यक्तिमा नकारात्मक सोच हावी हुँदै गएको देखिन्छ । सकारात्मकता त खोई कता हरायो । सुरु–सुरुमा यस्तो गालीहरु सुन्नुपर्दा मन रुन्थ्यो । तर, अहिले मैले यसलाई फरक तरिकाले लिने गरेको छु ।

म आजकाल सोच्छु कि जसले महिला कलाकारलाई अश्लिल गाली गरेर पुरुषार्थ गरेको ठान्छन्, उनीहरु सद्दे मानिस नै होइनन् । उनीहरु मानसिक रोगी हुन् । यस्ता मानिसहरुलाई महिला कलाकारलाई अश्लिल गाली गर्दा बडो रमाइलो लाग्दो रहेछ । मज्जा आउँदो रहेछ । यो एकप्रकारको कुन्ठा हो । मलाई यस्ता मानिसहरुप्रति रिस होइन, दया लाग्न थालेको छ ।

यदि तपाईं मानसिकरुपमा स्वस्थ हुनुहुन्छ र तपाईंले राम्रो जीवन बाँचिरहनु भएको छ भने कहिले पनि अश्लिल गालीमा तपाईंको औँला चल्दैन । सामाजिक सञ्जालमा तपाईंले लेख्ने कुराहरुले तपाईंको सभ्यताको स्तर, शिक्षादीक्षा, घर–परिवारको संस्कार सबै देखाइरहेका हुन्छन् । समग्रमा तपाईंको औकात त्यहाँ देखिन्छ ।

पुरुष कलाकारको तुलनामा महिला कलाकारहरु बढी स्क्यान्डलमा मुछिने भएकाले पनि उनीहरु धेरै निशानामा परेका हुन् कि ?

अहँ, म त्यो मान्दिनँ । एउटै स्क्यान्डलमा पुरुष र महिला कलाकार मुछिएका छन् भने गाली जति महिला कलाकारलाई आउँछ । म तपाईंलाई एउटा उदाहरण दिन्छु । अस्ति भर्खर एकजना महिलाले मोटरसाइकलमा बस्दा ‘ब्याकलेस’ कपडा लगाएको फोटो भाइरल भयो । उहाँलाई गालीको वर्षा गरियो । तर, केही दिनअघि एक महिलामाथि एसिड आक्रमण भयो । त्यो चाहिँ किन भाइरल भएन ? ब्याकलेस ड्रेस लगाउने महिला गालीको हकदार थिइन् कि एसिड प्रहार गर्ने पुरुष ?

अर्को घटना पनि सुन्नुस् । एउटा बच्चा जंगलमा अलपत्र अवस्थामा भेटियो । त्यो फोटो सामाजिक सञ्जालमा आयो । सबैले पापिनी आमा भनेर बच्चाको आमालाई गाली दिन थाले । तर, बच्चाको बाबुको कुरा त कतै पनि आएन । के बाबुको चाहिँ जिम्मेवारी हुँदैन सन्तानप्रति ? त्यही बच्चालाई एक आमाले लगेर आश्रय दिनुभयो । उहाँको प्रशंसामा खोई सामाजिक सञ्जाल रंगिएको ?

यो सबै लैंगिक विभेदकै उपजहरु हुन् । यो समाज महिलाले सबै जिम्मेवारी निभाएको हेर्न चाहन्छ । तर, महिलाप्रतिको जिम्मेवारी निभाउनचाहिँ तयार हुँदैन । महिलाले सानो गल्तिमा पनि ठूलो सजाय भोग्नुपर्छ ।

मैले आफ्नो बच्चाको दुईवटा थर राखेकी छु । एउटा मेरो (लुईंटेल) र एउटा श्रीमानको (उप्रेती) । धेरैले सोध्ने गर्छन्, कहिलेसम्म हो दुईवटा थर ? नागरिकतामा निकाल्दा हेरौंला नि रे । यस्तो छ सोच ।  अनेक दुख झेलेर बच्चालाई जन्माउने, हुर्काउने आमा । तर, सन्तानलाई बाबुको सँगै आफ्नो थर दिन खोज्दा, अनेक प्रश्नहरुको जवाफ दिँदै हिँड्नुपर्ने । अनि कति चित्त दुख्छ, भन्नु त ?

केही नायिकाहरुले सामाजिक सञ्जालमा अर्धनग्न र अन्तरंग तस्वीरहरु हाल्ने, सार्वजनिक कार्यक्रममा भड्किलो पहिरन लगाउने, उच्छृंखल हर्कत गर्ने गरेर आफैंले स्क्यान्डल सिर्जना गरिरहेको पनि पाइन्छ । त्यस्तो नगर्दा गालीगलौज कम हुन्थ्यो होला नि ?

यो सबै व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तपाईंले लगाउने, हिँड्ने, बोल्ने कुराहरुलाई कसैले ‘डिक्टेट’ गर्न मिल्दैन । हो, नायिकाहरु आफ्नो मर्यादामा बस्नुपर्छ । कतिपय नायिकाबाट बढी उछृंखलता प्रदर्शन भएको पनि होला । तर, एकाध खराब तत्वहरु त हरेक क्षेत्रमा भइ नै हाल्छन् । उनीहरुलाई हेरेर सिंगो चलचित्र क्षेत्रलाई मूल्यांकन गरिदिनु भएन । सबै नायिकाहरुलाई एउटै डालोमा हालिदिन भएन ।

नायिकाहरुले फिल्ममा वा फिल्मभन्दा बाहिर छोटा कपडा लगाउनुचाहिँ किन र कति आवश्यक हो ?

नायिका भन्नेवित्तिकै दर्शकमा एकखालको छवि हुन्छ । दर्शकले उनीहरुलाई फिल्मबाहिर पनि नायिकाकै रुपमा हेर्न चाहन्छन् । सिम्पल भएर हिँड्यो भने ‘यस्ता पनि हिरोइन’ भनेर हियाउने धेरै हुन्छन् । छोटा लुगा लगाएर हिँड्यो भने कुरा काट्ने धेरै हुन्छन् । हामीले यही बीचमा सन्तुलन बनाउने हो । ग्ल्यामरस देखिन छोटा लुगा लगाउनैपर्छ भन्ने हुँदैन । सार्वजनिक कार्यक्रममा जाँदा म चाहिँ शिष्ट र मर्यादित पोशाक नै लगाउने गर्छु ।

जहाँसम्म चलचित्रभित्रको कुरा छ, हामीले आफ्नो सीमा आफैंले कायम गर्ने हो । चलचित्रको स्क्रिप्ट हेरेर मात्रै फिल्म साइन गर्नुपर्यो । नायिकाले कस्तो सिन दिनुपर्छ भन्ने पहिल्यै तय हुने कुरा हो । स्क्रिप्टमा भएको भन्दा बाहिर गएर अंगप्रदर्शन गराउन वा नराम्रो सिनहरु दिन कसैले वाध्य पार्नै सक्दैन । कथाले माग्यो भन्दैमा जे पनि हुँदैन ।

अन्त्यमा मैले भुवन–साम्राज्ञीको प्रसंग कोट्याएँ । यसमा चाहिँ उनी खुल्न चाहिनन् । मैले सोधेको थिएँ, ‘साम्राज्ञी र भुवनको स्क्यान्डललाई कसरी लिनुभएको छ ?’

‘यो विषय अदालतमा पुगेकाले म धेरै बोल्न चाहन्नँ । नेपाली चलचित्रमा उहाँहरु दुवैजनाको आ–आफ्नो स्थान छ । भुवन दाइ पुरानो र प्रतिष्ठित अभिनेता हुनुहुन्छ । साम्राज्ञी पनि अहिलेको पुस्ताकी अब्बल नायिका हुनुहुन्छ । उहाँहरु दुवैले सोचविचार गरेर कदम चाल्नुहोस् भन्ने हामी सबैले चाहेका छौं ।’

सञ्चिताले यो अदालतसम्म पुग्नुपर्ने विवाद नभएको बताइन् । तर, अदालतमा पुगिसकेपछि अब अरुले बोल्नु उपयुक्त नभएको उनको धारणा छ ।

‘साम्राज्ञीले एउटा कुरा भन्नुभएको छ, भुवन दाइले अर्को कुरा भन्नु भएको छ । वास्तविकता के हो भन्ने त अब अदालतले नै निर्क्यौल गर्ला । हामी तेस्रो व्यक्तिले के आधारमा कमेन्ट गर्ने ?’ उनले भनिन् ।

यद्यपि, अझै पनि दुईजना आपसी समझदारीमा आउनु नै उपयुक्त हुने धारणा सञ्चिताको छ । ‘मुद्दा–मामलाभन्दा पनि दुवैजना एक ठाउँमा बसेर समझदारीमा पुग्दा राम्रो हुने थियो । सायद सबै चलचित्रकर्मीले यही चाहनुभएको छ । यति सानो चलचित्र उद्योगमा  धेरै स्क्यान्डल जन्माउनु र चर्काउनु राम्रो हुँदैन । यसले चलचित्र क्षेत्रलाई राम्रो गर्दैन । यसबाट भोलि आफ्ना सन्तानलाई चलचित्र क्षेत्रमा पठाउन धेरै बाबुआमा निरुत्साहित बन्न सक्छन् ।’

एक घन्टा लामो अन्तरवार्ता सकिएर उठ्दा उठ्दै सञ्चिताले भनिन्, ‘कन्ट्रोभर्सी चैं नआओस् है ।’

Soc: onlinekhabar.com

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki