बागलुङ मिडिया हाउसद्वारा सञ्चालित बागलुङ खबर डट कम अनलाइन पत्रिका आजदेखि दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ । यो दुई वर्षमा हामीसँग जोडिनुभएका तथा हामीलाई साथ, सहयोग र प्रेरणा प्रदान गर्नुहुने सबैप्रति हामी आभारी रहेका छौं ।
हामीले सञ्चार कर्ममा लागेर समुदाय स्तरमा भएका गतिविधिहरुलाई पस्कने तथा बागलुङमा भएका स्थानीय तह केन्द्रित समाचार प्रकाशन गर्नु हाम्रो नितान्त लक्ष्य अनुसार हामी हाम्रो काममा लागेका छौं । बागलुङ बजारलाई मुख्य कार्यथलो बनाएर शुरुवात गरिएको यस अनलाइन पत्रिकाले समुदाय स्तरमा भएका तथा हुने गरेका धेरथोर प्रश्नहरुको जवाफ खोज्ने प्रयत्न गरेका छौं ।
जनताका आवाज बोल्न भनेजस्तो सजिलो छैन् । अनेकौं समस्याको सामना गर्नुपर्छ । हाम्रो टिम समस्याको सामना गर्दै चूनौतिका पहाडहरुलाई पन्छ्याउदै निरन्तर आफ्नो कर्ममा खटिरहेको कुरा सबैलाई अवगत नै छ ।
सञ्चार माध्यममा पनि अनेकौं समस्याहरु रहेका छन् । सञ्चार माध्यम सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्नु, सही र तथ्यपूर्ण समाचार प्रकाशन गर्नु तथा भ्रमपूर्ण समाचार पहिचान गर्नु जस्ता समस्याहरु पनि नभएका होइनन् । त्यस्ता समस्याहरुलाई चिर्दै हामीले हाम्रा समाचार र विचारलाई तथ्यपूर्ण बनाउन निरन्तर प्रयास गरेका छौं । हाम्रो यो प्रयासलाई सबैले साथ र सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास पनि लिएका छौं ।
जसरी सुशासनबिना लोकतन्त्र फस्टाउन सक्दैन् त्यसरी नै सही र तथ्यपूर्ण समाचारबिना सञ्चार माध्यमको बिकास हुन सक्दैन् । यसकारण हामीले निरन्तर रुपमा हाम्रो क्षमताले भ्याएसम्म खबरदारी गर्दै आएका छौं । हामीले देशमा सुशासन कायम गर्न तिनै तहका सरकार तथा नागरिक सबैलाई खबरदारी गर्दै आएका छौं । हाम्रो यो अभियान निरन्तर रुपमा चलिनै रहको छ र रहिरहने छ । लोकतन्त्रको सच्चा पहरेदारका रुपमा आगामी दिनमा समेत हामी सधै नै क्रियाशील रहिरहने छौं । वार्षिकोत्सवको यो पुनीत अवसरमा हामी हाम्रा श्रद्धय पाठक, विज्ञापनदाता, पत्रकार, सुभेच्छुक तथा सहकर्मी सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।