पर्वत, १३ कात्तिक । पर्वतका संकटग्रस्त पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सागर भुसाल (रास्वपा) छिर्न थालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भुसाल आफ्नो निर्वाचन क्षेत्र भ्रमणमा छन् । पर्वत निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित उनी विभिन्न गाउँपालिका पुगिरहेका छन् ।
उनी आफैंले सामाजिक सञ्जालमार्फत स्थानीयसँग भेटघाटको तस्बिर पोष्ट गरिरहेका छन् । भेटघाटको क्रममा उनले स्थानीयलाई पार्टी प्रवेश पनि गराइरहेका छन् ।
जलजला गाउँपालिका–८, नाग्लिबाङमा करिब ४० जनालाई पार्टी प्रवेश गराएको भन्दै उनले फेसबुक पोष्ट सार्वजनिक गरेका छन् ।

‘जलजला गाउँपालिका–८, नाग्लिबाङमा करिब ४० जना नयाँ साथीहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ ।
उहाँहरुलाई हार्दिक स्वागत गर्दछौं’,लेखेका छन्,‘साथै, स्थानीय जनतासँग आत्मीयता भलाकुसारी, भेटघाट तथा सुझाव संकलन कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भयो ।’
जलजला तीन महिनाका लागि बाढीपहिरो संकटग्रस्त पालिका घोषित भएको छ । दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउनुको साटो भुसालले उनीहरुलाई भेला गराएर पार्टीमा भित्र्याइरहेका छन् ।






