बागलुङ, ९ असोज । बागलुङमा लगातार वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिका–४ कानाबगरमा वर्षासँगै लेदोसहितको पहिरो खसेपछि साँझ करिब ६ः४५ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ।
त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा पनि लेदोसहितको पहिरो खसेपछि साँझ ७ः४५ बजेदेखि सडक अवरुद्ध भएको छ। निरन्तर वर्षा भइरहेकाले अवरुद्ध सडक खुलाउन कठिनाइ भइरहेको बताइएको छ।
यसैबीच, मध्यपहाडी लोकमार्गअन्तर्गत गलकोट नगरपालिका–१ चौराहामा पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाली सेना कालिजंग गण र इलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको सुरक्षा टोलीले सडक खुलाउने क्रममा बाटोमा रोकिएकी सुत्केरी महिला र बच्चाको उद्धार गरेको छ। उनीहरूलाई उपचारका लागि बागलुङ प्रादेशिक अस्पताल पठाइएको छ।
बागलुङमा वर्षा निरन्तर भइरहेको र नदी तथा खोलाको जलसतहसमेत बढिरहेको प्रहरीले जनाएको छ। वर्षाका कारण सडक तथा नदी आसपासका क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ।







