बागलुङ, ५ असोज । बागलुङमा पछिल्लो समय डेङ्गीको माहामारी देखिएसँगै बजारमा डेङ्गीको सर्वेक्षण गरिएको छ । बढ्दो डेङ्गी संक्रमणको कारण, जोखिमका कारक तथा फैलिरहेको डेङ्गीको भेरियन्ट पहिचान गर्न विशेषज्ञ टोलीले भेक्टर सर्भे तथा केस–कन्ट्रोल अध्ययन सुरु गरेको छ।
स्वास्थ्य सेवा विभागका डा.गोकर्ण दहाल, फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुबेदी तथा विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त सम्मिलित टोलीले बागलुङ नगरपालिका वडा नं १ देखि ४ सम्मका १५० घरधुरीमा डेङ्गी सार्ने एडिस लामखुट्टेको अवस्था अध्ययन गरिरहेको छ।
टोलीले डेङ्गी भएका र नभएका व्यक्तिबीच जोखिमका कारकको तुलना गर्न केस–कन्ट्रोल अध्ययन पनि गरिरहेको छ। साथै, धौलागिरी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रक्त नमुनाको थप परीक्षणमार्फत डेङ्गीको भेरियन्टसमेत पहिचान गर्ने काम भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो ।
हालसम्म वडा नं.१, २ र ३ मा गरिएको प्रारम्भिक सर्वेक्षणमा ७७ घरधुरीमध्ये ३६ घरमा डेङ्गी सार्ने लामखुट्टेको लार्भा फेला परेको छ। त्यस्तै, जाँच गरिएका २९५ वटा पानीका भाँडा तथा कन्टेनरमध्ये २१ प्रतिशतमा लामखुट्टेको लार्भा भेटिएको अध्ययन टोलीले जनाएको छ।
अध्ययनले घर तथा घर वरपर रहेका पानी जम्ने भाँडा, ट्यांकी, गमला, टायर लगायतका स्थान डेङ्गी सार्ने लामखुट्टे प्रजननका मुख्य स्रोत बन्न सक्ने देखाएको छ। त्यसैले पानी जम्न नदिने, नियमित सफाइ गर्ने र प्रयोगमा नरहेका भाँडा तथा कन्टेनर खाली राख्न टोलीले आग्रह गरेको छ। यस अध्ययनमा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ, धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ नगरपालिका स्वास्थ्य शाखा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा फेयरमेड फाउन्डेशनले सहजीकरण गरिरहेका छन्।







