बागलुङ, १७ साउन । बागलुङको कृषि क्षेत्रलाई व्यवसायिक र औद्योगिक स्तरमा विस्तार गर्न निजी क्षेत्रसँग सहकार्यको आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
बागलुङ क्षेत्र नम्बर १ का सांसद सुशील खड्काको सचिवालयको पहल तथा बागलुङ नगरपालिकाको व्यवस्थापनमा आयोजित बागलुङको कृषि क्षेत्रलाई व्यवसायिक उत्पादन, प्रविधि, बजार तथा निजी लगानीसँग जोड्ने उद्देश्यले बागलुङ नगरपालिकामा कृषि तथा प्राकृतिक रेशा क्षेत्रको विकास एवं लगानी प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कृषि क्षेत्रलाई व्यवसायिक र औद्योगिक स्तरमा विस्तार गर्न निजी क्षेत्रसँग सहकार्यको आवश्यक रहेको सरोकारवालाले बताएका हुन् ।
कृषिलाई उत्पादनबाट लगानी र बजारसँग जोड्नुपर्नेमा जोड
कार्यक्रममा सांसद सुशील खड्काले कृषिलाई केवल उत्पादनको विषयका रूपमा नभई लगानी, व्यवसाय र बजारसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
किसानले उत्पादन गरे पनि उचित मूल्य र बजार नपाउने समस्या रहेको उल्लेख गर्दै उहाँले किसानलाई बजारसँग जोड्ने, प्रविधि हस्तान्तरण गर्ने र उत्पादनलाई व्यवसायिक तथा औद्योगिक स्तरमा विस्तार गर्ने मोडल आवश्यक रहेको बताउनुभयो।
उहाँले बागलुङमा ठूलो मात्रामा बाँझो रहेको जमिनलाई उपयोग गर्दै प्रारम्भिक चरणमा करिब १० हजार रोपनी क्षेत्रफलबाट व्यवसायिक कृषि सुरु गर्न सकिने प्रस्ताव राख्नुभयो। बलेवा फाँट लगायत सम्भावनायुक्त क्षेत्रबाट सुरुवात गर्दै क्रमशः विस्तार गर्न सकिने उहाँको धारणा थियो।
बागलुङमा जैविक कृषि विस्तार गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै सांसद खड्काले जनता एग्रोको व्यवसायिक कृषि तथा प्रविधि हस्तान्तरणको अनुभवलाई स्थानीय तहसँग जोडेर काम गर्न सकिने बताउनुभयो। उहाँका अनुसार अहिलेको मुख्य चुनौती लगानीको मात्र नभई प्रविधि हस्तान्तरण, उत्पादनको बजार सुनिश्चितता र स्थानीय तहबीच प्रभावकारी समन्वयको समेत हो।
उहाँले बाँझो जमिनको उपयोगका लागि भूमि बैंकसम्बन्धी व्यवस्थालाई दुरुपयोग हुन नदिई सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने तथा स्थानीय तह, समुदाय र निजी क्षेत्रको सहकार्यमा कृषि क्षेत्रलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
किसानको उत्पादन बजारसँग जोड्न जनता एग्रोको प्रस्ताव
जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडका अध्यक्ष श्री पवनकुमार गोल्यानले बागलुङका किसानले कुन उत्पादनबाट बढी आम्दानी लिन सक्छन् भन्ने पहिचान गरी उत्पादन, मूल्य र बजारलाई एकैसाथ जोड्नुपर्ने बताउनुभयो। प्राकृतिक रेशाको हकमा उत्पादनलाई एकीकृत तथा ठूलो परिमाणमा अघि बढाउन सके बजार सुनिश्चित गर्न सकिने उल्लेख गर्दै रिलायन्स स्पिनिङ मिलमार्फत आवश्यक प्राविधिक विशेषज्ञता उपलब्ध गराउन तथा उत्पादनको शतप्रतिशत खरिद सुनिश्चित गर्न सकिने उहाँले बताउनुभयो।
जैविक खेती र प्रविधि हस्तान्तरणमा निजी क्षेत्र तयार
जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडका सञ्चालन निर्देशक श्री प्रेमबहादुर लामाले सही स्थान र उपयुक्त प्रविधिको प्रयोगबाट जैविक कृषि उत्पादनलाई ठूलो स्तरमा विस्तार गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणित जैविक उत्पादनलाई जर्मनी तथा अष्ट्रेलियालगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने बताउनुभयो।किसान तथा स्थानीय तहसँग जोडिएर कृषि प्रविधि र अनुभव बाँड्न जनता एग्रो तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।
स्थानीय उत्पादनलाई स्थानीय पहिचान र बजारसँग जोड्नुपर्ने
बागलुङ नगरपालिकाका प्रमुख श्री वसन्तकुमार श्रेष्ठले बागलुङलाई आत्मनिर्भर बनाउन मासु, अण्डा, दूध तथा हरियो तरकारी लगायतका कृषि उत्पादनमा स्थानीय उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो।
हरेक स्थानीय तहले आफ्नै विशिष्ट कृषि उत्पादनको पहिचान निर्माण गरी त्यसलाई बजारसँग जोड्नुपर्ने उल्लेख गर्दै उहाँले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन लगानी आवश्यक रहेको बताउनुभयोनिजी क्षेत्र तथा सहकारीमार्फत कृषि व्यवसाय अघि बढाउन सकिने सम्भावनामा समेत उहाँले जोड दिनुभयो।
बागलुङमा कृषि क्षेत्रमा लगानी र निजी क्षेत्रलाई प्रत्यक्ष रूपमा जोडेर गरिएको यो पहिलो प्रयासमध्ये एक भएको बागलुङ नगरपालिकाका उपप्रमुख श्री राजु खड्काले बताउनुभयो।
प्राविधिक शिक्षा र कृषि अनुसन्धानमा सहकार्य
सीटीईभीटी गण्डकी प्रदेशका निमित्त निर्देशक श्री जीवन भण्डारीले कृषि तथा प्राविधिक शिक्षालाई सँगसँगै अघि बढाउँदै नयाँ प्रविधि, अध्ययन तथा अनुसन्धानका गतिविधिमा सीटीईभीटी सहकार्य गर्न खुला रहेको बताउनुभयो। कृषि क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति विकास तथा नयाँ प्रविधि प्रयोगका लागि सहकार्य गर्न सकिने उहाँको भनाइ थियो।
सरकार, समुदाय र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने
कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद आचार्यले कृषि क्षेत्रमा समय, अनुभव र प्रविधिलाई जोडेर उत्पादन कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रमले महत्वपूर्ण छलफलको आधार तयार गरेको बताउनुभयो।
कृषिसँग जोडिएका व्यक्ति, समुदाय र संस्थाहरूलाई प्रविधि र उत्पादनको आधारमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रमले नयाँ सोच र सम्भावनाको खोजी गरेको उल्लेख गर्दै उहाँले सरकार, समुदाय र निजी क्षेत्र मिलेर कृषि क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा बागलुङका विभिन्न स्थानीय तहका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रमा रहेका कृषि तथा प्राकृतिक रेशा उत्पादनको सम्भावना, उपलब्ध खेतीयोग्य तथा बाँझो जमिन, किसानको अवस्था तथा विद्यमान चुनौतीबारे जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रमबाट प्राप्त तथ्य, सुझाव तथा निजी क्षेत्रबाट व्यक्त चासोलाई आधार बनाई सम्भावित कृषि तथा प्राकृतिक रेशा बालीको पहिचान, उत्पादन विस्तार, प्रविधि हस्तान्तरण, बजार सुनिश्चितता, प्रशोधन, मूल्य अभिवृद्धि तथा निजी लगानीका क्षेत्र पहिचान गरी आगामी सहकार्य अघि बढाउने विषयमा छलफल भएको थियाे।
कार्यक्रममा जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडका अध्यक्ष श्री पवनकुमार गोल्यान, सञ्चालन निर्देशक श्री प्रेमबहादुर लामा, प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद आचार्य, सीटीईभीटी गण्डकी प्रदेशका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा कृषि शाखाका प्रतिनिधि, कृषक, महिला उद्यमी, उद्यमी, शिक्षक, पत्रकार महासंघ तथा महिला संघका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले बागलुङको कृषि क्षेत्रलाई किसानको उत्पादनबाट व्यवसायिक उत्पादन, व्यवसायिक उत्पादनबाट प्रशोधन तथा उद्योग र उद्योगबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने दीर्घकालीन सहकार्यको आधार तयार गरेको छ ।







