बागलुङ, १४ कात्तिक । पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पिपिएलए) बागलुङको अध्यक्षमा अधिवक्ता विष्णुप्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।
संगठनको १६औँ जिल्ला भेला तथा आठौँ अधिवेशनबाट अधिवक्ता शर्माको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता युक्तजंग राजभण्डारी, सचिवमा अधिवक्ता केदारनाथ शर्मा उपाध्याय र कोषाध्यक्षमा अधिवक्ता आनन्दराज गौतम चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा अधिवक्ता डा. डिल्लीराज गौतम, अधिवक्ता नरेन्द्रबहादुर केसी, अधिवक्ता यामबहादुर चर्मकार, अधिवक्ता बलराम शर्मा र अधिवक्ता रामकृष्ण शर्मा चयन हुनुभएको हो ।
पिपिएलए बागलुङका अध्यक्ष अधिवक्ता हरिकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अधिवक्ता युक्तजंग राजभण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव अधिवक्ता विष्णुप्रसाद शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य राम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका उपाध्यक्ष राजुप्रसाद गौतम, नेकपा एमाले गण्डकी प्रदेश कानुन विभागकी संयोजक ममता देवी शर्मा तथा धवलागिरि बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख रामप्रसाद उपाध्यायले मन्तव्य व्यक्त गर्नुभएको थियो ।







