बागलुङ, १२ असोज । बागलुङमा चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा २७ करोड ३४ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
आन्तरिक राजस्व कार्यालय बागलुङका अनुसार कुल २८ करोड ७८ लाख ४२ हजार रुपैयाँ लक्ष्य रहेकोमा लक्ष्यको ९५.१ प्रतिशत राजस्व संकलन भएको हो। साउन, भदौ र असोज महिनामा लक्ष्यको ९५.१ प्रतिशत राजस्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत कपिल सिलवालले जानकारी दिए।
कार्यालयका अनुसार सबैभन्दा बढी आयकर लक्ष्यको १४ प्रतिशतभन्दा बढी संकलन भएको छ। कुल १३ करोड ७२ लाख २४ हजार लक्ष्य रहेकोमा १५ करोड ७४ लाख ६३ हजार रुपैयाँ संकलन भई कुल ११४.७५ प्रतिशत राजस्व उठेको हो। बहाल करतर्फ ४२ लाख १५ हजार रुपैयाँ लक्ष्य रहेकोमा १४ लाख २९ हजार अर्थात् ३३.८९ प्रतिशत राजस्व संकलन भएको छ भने ब्याजकरतर्फ ३ करोड ४९ लाख ९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा २ करोड ३७ लाख ७३ हजार अर्थात् ६८.१० प्रतिशत राजस्व संकलन भएको प्रमुख कर अधिकृत सिलवालले जानकारी दिए।
कार्यालयमा मूल्य अभिवृद्धि करतर्फ ६ करोड ४६ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ। यसको लक्ष्य कुल ८ करोड ९६ लाख ४५ हजार रुपैयाँ रहेको थियो। मूल्य अभिवृद्धितर्फ कुल लक्ष्यको ७२.०७ प्रतिशत राजस्व संकलन भएको छ। कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा अन्तःशुल्क ११२.४४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ। कुल २ करोड १३ लाख ३५ हजारको लक्ष्य रहेकोमा यो तीन महिनामा २ करोड ३९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको हो। अधिकांश करदाताले असोज मसान्तसम्ममा अन्तःशुल्क तिर्ने भएका कारण कर संकलन पनि बढेको कार्यालयले जनाएको छ।
कार्यालयले शिक्षातर्फ कुल १ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखे पनि २१ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ भने अन्य विभिन्न करमा ५ लाख १२ हजार रुपैयाँको लक्ष्य रहेकोमा कुल २१ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख सिलवालले जानकारी दिए।
कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा लक्ष्यभन्दा ५.५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ। असोज महिनाका लागि कुल ८ करोड ६८ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहे तापनि कुल ९ करोड १८ लाख २ हजार रुपैयाँ अर्थात् कुल १०५.५९ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो। असोज महिनामा सबैभन्दा बढी आयकर ७ करोड २८ लाख ५० हजार रुपैयाँ संकलन भएको छ। यसमा कुल लक्ष्यको झन्डै ६० प्रतिशत बढी रकम संकलन भएको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षको यो तीन महिनामा आर्थिक गतिविधिमा परिवर्तन हुनुको कारण अधिकांश करदाताले असोज मसान्तसम्ममा कर तिर्ने प्रवृत्ति बसेका कारण राजस्व संकलन उल्लेखनीय भएको कार्यालय प्रमुख सिलवालले बताए।
सरकारले हालै ल्याएको आर्थिक विधेयक २०८३ ले करको दायरा बढाउन र नयाँ कर राजस्वको प्रावधान सुरुवात गर्न विभिन्न करमा छुट दिएको छ। सोहीअनुसार आन्तरिक राजस्व कार्यालय बागलुङले पनि केही शीर्षकमार्फत राजस्व छुटको व्यवस्था गरेको छ। विधेयकको दफा ४० अनुसार आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था छ। यस व्यवस्थाअनुसार कुनै पनि व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आयआर्जन गरी आयकर दाखिला नगरेको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिएर २०७९/०८० देखि २०८२/०८३ सम्मको आय विवरण २०८३ पुस मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज रकम मिनाहा गरिदिने उल्लेख छ।
स्थायी लेखा नम्बर भएकाको हकमा पनि आयआर्जन वा कारोबार नगरेका करदाताले २०८१/०८२ भन्दा अघिदेखि नै आय विवरण दाखिला नगरेको भए पनि त्यस्तो व्यक्तिले दर्ता खारेज गर्न वा कारोबार पुनः सक्रिय बनाउन चाहेमा आगामी पुस मसान्तभित्र दर्ता खारेजीका लागि निवेदन दिएमा सोभन्दा अघिको कर तिर्नु नपर्ने प्रावधान समेत राखेको छ।
कार्यालयले राजस्व तिर्नका लागि अनलाइन प्रणालीबाट सबै सेवा सञ्चालन गरेको छ भने म्याग्दीको रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, पर्वतको पैयुँ गाउँपालिका र कुश्मामा रहेको करदाता सेवा कार्यालय, मुस्ताङको लोमन्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिका, साथै बागलुङको गलकोट नगरपालिकाबाट पनि करदाता सेवा प्रारम्भ गरेको छ। त्यहाँबाट व्यवसायी लगायत व्यक्तिगत स्थायी लेखा नम्बर सेवाग्राहीले प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ।







